काठमाडौँ : मंगलबार दिनभरजसो सामाजिक सञ्जालमा सुर्खेत शहिद पार्कमा निर्माण गरिएका आकार नमिलेका बाघका तस्बिर भाइरल भए । शहिद पार्क आफैँमा पर्यटकीय गन्तव्यका लागि एक निर्मित संरचना हो । तर पार्कमा निर्माण गरिएको धेरै संरचना अधुरै छन् ।
पार्क जाने बाटो नै व्यवस्थित नभएका बेला पार्कमा निर्माण गरिएको बाघका प्रतिमाले चर्चा र आलोचना पाउनु स्वभाविक थियो । सुर्खेत यसै पनि बाघ पाइने जिल्लाको रुपमा चिनिदैन । छिमेकी जिल्ला बाँके र बर्दिया बाघका लागि प्रख्यात रहँदा शहिद पार्कमा बाघको प्रतिमा राख्नू नै प्रदेश सरकारको भद्दा मजाक हो ।
त्यसमाथि आकार प्रकार कुनै नमिलेको बाघ राखेर प्रदेश सरकारले महिनौसम्म बाघको प्रतिमाकै बेइज्जत गरेकै थियो । जुन सामाजिक सञ्जालमा आएपछि झन् भाइरल बने । अनि बाघको प्रतिमा बनाउने र बनाउन लगाउनेको आलोचना भयो ।
लाखौँ रुपैयाँ खर्चे निर्माण गरिएको शहिद पार्कमा शहिदका फोटो देखिदैनन् । कुनै पनि शहिदको मूर्ति वा प्रतिमा पार्कमा छ्र्रैन् । कर्णाली प्रदेश स्थापनाका लागि ज्यान दिएका व्यक्तिहरुको सम्झनामा शहिद पार्क निर्माण गरिएको सोझो सन्देश जान्छ ।
तर शहिद पार्कमा शहिदको मूर्ति बनाएर राख्ने विषयमा न बहस भएको छ । न त प्रदेश सरकारले योजना नै बनाएको छ । शहिद पार्कको नाममा प्रदेश सरकारले केवल पार्क बनाएर टिकटक सेन्टर मात्रै बनाउन खोजेको देखिन्छ ।
यो कर्णालीको पर्यटन र शहिदमाथि कर्णाली प्रदेश सरकारकै भद्दा मजाक हो । कुनै पनि संरचना निर्माण गर्दा होस् वा निर्माण गरेपछिको अनुगमन । सरकारी संयन्त्र प्यारालाइसिस जस्तो भइसकेका बेला सामाजिक सञ्जालमा केवल चर्चामा सीमित भइरहेको छ ।
कर्णालीमा प्रचुर पर्यटन सम्भावना र जिवन्तता हुँदाहुँदै पनि बाघका नक्कली प्रतिमा बनाएर प्रदेश सरकारले कर्णालीको पर्यटनकै भद्दा मजाक गरेको पुष्टि हुन्छ । रारा, शे–फोक्सुन्डो लगायत अलौकिक पर्यटकीय सम्भावनालाई बेवास्ता गरेर केवल सुर्खेतमा राम–रमाइलोका लागि बाघका मूर्ति बनाएर बस्नु आफैमा संकुचित सोचको उपादेयता मात्रै हो । जसले कहिल्यै नतिजा दिँदैन, केवल आलोचना मात्रै हुन्छ ।
तर पनि प्रदेश सरकारका नेतृत्वकर्ता र ब्युरोक्रेसीमा अझै चेतना आएको छैन । ठेकेदारबाट आफूहरुलाई कमिसन आएको खण्डमा सबथोक सही देख्ने ब्युरोक्रेसीका कारण पनि कर्णाली सम्भावनाको सहर बन्नेभन्दा कमिसनको अड्डा बनिरहेको छ ।
शहिद पार्क त्यसैको एउटा पछिल्लो ज्वलन्त उदाहरण मात्रै हो ।