सुर्खेत: कैलालीको दौलतपुरस्थित कर्णाली नदीमा माघे सङ्क्रान्तिको अवसरमा माघी स्नान कार्यक्रम हुने भएको छ । नेपाली संस्कृति परिषद्को आयोजनामा कर्णालेश्वर मन्दिर दौलतपुर ‘कर्णालीधाम’मा मकर सङ्क्रान्तिको अवसरमा आगमी माघ १ गते लाहान माघी स्नान कार्यक्रम आयोजना थालिएको हो ।
माघी पर्वको अवसरमा आयोजना हुने कार्यक्रममा पाँच हजार बढी नागरिक सहभागी गराउने लक्ष्य आयोजकले लिएको छ । कर्णाली नदी पवित्र नदी भएकाले यसलाई धार्मिक तथा पर्यटकीय क्षेत्रकारुपमा विकास गर्न माघी स्नान कार्यक्रम गर्न थालिएको नेपाली संस्कृति परिषद्का अन्तर्राष्ट्रिय सङ्गठन महासचिव तथा नेपालका राष्ट्रिय अध्यक्ष हर्कबहादुर स्वाँरले बताए ।
उनले कर्णाली नदीमा नेपालका अधिकांश नदी मिसिएकाले यो पवित्रताको प्रतिक भएको जनाउँदै यहाँको विकास तथा प्रचारप्रसार गर्न यसवर्ष धेरैको सहभागितामा कार्यक्रम गर्न थालिएको बताए। ‘कर्णाली नदी पवित्र नदी हो, यसको महत्व बुझाउन कार्यक्रम गर्न थालेका हौँ । कर्णाली नदी धाम निर्माण गर्न पहल भइरहेको छ ।’
कार्यक्रम सफल पार्न स्थानीयस्तरमा टीकापुर– ५ का पूर्व वडाध्यक्ष रामशङ्कर डगौराको संयोजकत्वमा समिति गठन भएको छ । माघे सङ्क्रान्तिका दिन पहिला ब्राह्मणहरुद्वारा यज्ञ हुने त्यसपछि स्नान हुने बताइएको छ । स्नान कार्यक्रममा महिला र पुरुषका लागि स्नानका लागि फरक–फरक स्थान बनाइँदैछ ।
यसका साथै नदी किनारमा आगो ताप्ने व्यवस्था, सामूहिक आरतीको व्यवस्था गरिएको छ । स्नानपछि प्रसाद ग्रहण र सांस्कृतिक कार्यक्रम हुनेछन् । कार्यक्रमलाई राइटर्स इन्तरनेस्नल अमेरिकाका संयोजक ज्ञानेन्द्र गदाल, नेपाली संस्कृति परिषद् अन्तर्राष्ट्रिय अध्यक्ष अशोक चौरसियाले अनलाइनमार्फत सम्बोधन गर्नुहुने छ ।
अन्तर्राष्ट्रिय महासचिव हर्कबहादुर स्वाँरले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सन्तहरुले प्रवचन दिने कार्यक्रम पनि रहेको छ ।
स्नानपछि प्रसाद ग्रहण र सांस्कृतिक कार्यक्रम हुनेछन् । कार्यक्रमलाई राइटर्स इन्तरनेस्नल अमेरिकाका संयोजक ज्ञानेन्द्र गदाल, नेपाली संस्कृति परिषद् अन्तर्राष्ट्रिय अध्यक्ष अशोक चौरसियाले अनलाइनमार्फत सम्बोधन गर्नुहुने छ भने अन्तर्राष्ट्रिय महासचिव हर्कबहादुर स्वाँरले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको छ । उक्त कार्यक्रममा सन्तहरुले प्रवचन दिने कार्यक्रम पनि रहेको छ ।
कार्यक्रममा कैलाली जिल्लाभरिका श्रद्धालु तथा भक्तजन सहभागी गराउने लक्ष्यका साथ आफूहरु लागिरहेका माघी स्नान मेलाका आर्थिक संयोजक तथा टीकापुर १ का पूर्व वडाध्यक्ष गङ्गाराम आचार्यले बताए। माघी स्नान मेलाका प्रचारप्रसार समितिका संयोजक ललित थापाले एक हजार ८० किलोमिटर लामो दूरीमा बगेको कर्णाली सुन बग्ने नदी भएकाले कर्णाली पवित्र जल हो भनी स्थापित गर्न खोजिएको बताए ।
कर्णाली नदीको दौलतपुरमा पछिल्ला केही वर्षयता कर्णालेश्वर मन्दिरले स्नानलगायत पूजाआजा गर्ने काम गर्दै आएको छ । कर्णाली नदीको प्रचारप्रसारमा सघाउ पुगाउने उद्देश्यले गरिएको यो कार्यक्रमले धार्मिक पर्यटकीय विकासमा थप सघाउ पुग्ने स्थानीय बताउँछन् ।
संस्कृति परिषद्ले टीकापुर क्षेत्रमा विभिन्न धार्मिक र मानवीय कार्य गर्दै आएको छ । परिषद्को अन्तर्राष्ट्रिय सम्मेलन पुस ९ र १० गते भारतको काशीमा भएको थियो । सम्मेलनमा टीकापुर, काभ्रेलगायत नेपालका विभिन्न ठाउँबाट नागरिक सहभागी थिए । टीकापुरबाट मात्र ५७ जना सम्मेलनमा सहभागी भएका थिए ।
परिषद्ले यसवर्ष देउसी भैलो कार्यक्रमसमेत गरेको थियो । परिषद्कै सक्रियतामा एकल महिलालाई पोसाक वितरण गरिएको थियो भने विद्यालयमा बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।