हुम्ला: सुर्खेत बसेर हुम्लाको गाउँपालिका चलाएका अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेगनाथ शाही र लेखापाल दत्तबहादुर थापालाई गाउँपालिकामा हाजिरी गर्न रोकिएको छ ।
शाही र थापा चार महिनापछि बिहीबार गाउँपालिका कार्यालय पुगेका थिए । गाउँपालिका उपाध्यक्ष कर्ण रोकाया, ३ नम्बर वडाका अध्यक्ष डिलबहादुर फडेरा, ४ का अध्यक्ष मनऋषि पाण्डेलगायतले हाजिर गर्न रोकेका हुन् । तीन करोड रुपैयाँ हिनामिनाको टुंगो नलागेसम्म हाजिर गर्न नदिने भन्दै उनीहरूले शाही र थापालाई कार्यालयबाट बाहिर निकालेको एक कर्मचारीले जानकारी दिए ।
पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मेघनाथ शाही र लेखापाल दत्तबहादुर थापामाथि पालिका ‘अपहरण’ गरी सुर्खेतबाट सञ्चालन गरेको आरोपमा पालिका उपाध्यक्ष कर्णबहादुर रोकायाले उजुरी दर्ता गराए हुन् ।
उजुरीमा रोकायाले अख्तियार दुरुपयोग अनुसन्धान आयोग नियमावली २०५९ को नियम ५ बमोजिम अनुचित कार्य गरेको विवरण खोली निवेदन दिएको उल्लेख गरेका छन् । उपाध्यक्ष रोकाले दर्ता गराएको उजुरीमा गत असार ३ गते गाउँपालिकाको गाउँसभाले विभिन्न शीर्षकमा विकास योजनामा बजेट विनियोजन गरेको र सो विनियोजित रकम कहाँ, के कति रकम बाँडफाँड गर्ने भनी कार्यपालिकामा कुनै निर्णय नगरी सुर्खेतबाट पालिका चलाइएको आरोप लगाइएको छ ।
तीन करोड रुपैयाँ हिनामिनाको टुंगो नलागेसम्म हाजिर गर्न नदिने भन्दै उनीहरूले शाही र थापालाई कार्यालयबाट बाहिर निकालेको एक कर्मचारीले जानकारी दिए । गत साउनमा निमित्त अधिकृत टकदत्त प्याकुरेल भ्रष्टाचार अभियोगमा निलम्बनमा परेपछि गाउँपालिका अध्यक्ष मोहनविक्रम सिंहले आफूनिकट शाहीलाई निमित्त अधिकृत नियुक्त गराएका थिए ।
त्यसलगत्तै गाउँपालिका उपाध्यक्ष कर्ण रोकायाले कार्यपालिकाको बैठकबाट हंश महतारालाई निमित्त अधिकृतमा नियुक्ति गराएका थिए । त्यसयता शाही सुर्खेत बसेर कार्यकारी अधिकृतको हैसियतमा काम गर्दै आएका थिए ।