काठमाडौं। सत्ता गठबन्धनले प्रदेश नेतृत्वको टुङ्गो लगाएको छ। बालुवाटार प्रधानमन्त्री निवासमा भएको बैठकमा प्रदेशको नेतृत्व कल्ले र कसरी गर्ने भन्ने टुङ्गो लागेको हो।
दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो। जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने छ।
दलहरुबीच आइतबार साँझ बालुवाटारमा भएको छलफलमा बाँकी रहेका ६ वटा प्रदेशको पनि बाँडफाँट भएको हो । जसमा गण्डकी र लुम्बिनीमा एमालेले सरकार बनाउने, वागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालाे सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले नेपाल प्रेसलाई जानकारी दिएका छन् ।
यस्तै प्रदेशका अन्य मुख्य पदमा पनि दलहरुबीच भागबण्डा भएको छ। मधेस र कर्णाली प्रदेशसभा सभामुख एमालेले पाउने छ भने प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमको सभामुख माओवादीले पाउने छ। यस्तै बागमती प्रदेशसभा सभामुख राप्रपाले लिने भएको छ।
यसैगरी, प्रदेश १ र गण्डकीको उपसभामुख एमाले, बागमती र कर्णालीको उपसभामुख माओवादी, लुम्बिनीको उपसभामुख राप्रपा र मधेस प्रदेशको उपसभामुख जनमत पार्टीलाई दिने सहमति भएको छ। सुदूरपश्चिमको उपसभामुख नागरिक उन्मुक्ति पार्टीलाई प्रस्ताव गरिएको छ।
प्रदेश १ को मुख्यमन्त्रीमा भने एमालेका हिक्मत कार्की नियुक्त भइसकेका छन्।