सुर्खेत: कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको ‘ड्रिम’ प्रोजेक्टका रूपमा रहेको भेरी लिफ्टिङ खानेपानी आयोजना निर्माणको प्रक्रिया सुरु हुने भएको छ ।
करिब ६ अर्ब रुपैयाँको लगानीमा भेरी लिफ्टिङ खानेपानी आयोजनाको ठेक्का प्रक्रिया अगाडि बढाइएको वीरेन्द्रनगर नगरपालिकाले जनाएको छ।
आइतबार खानेपानी तथा ढल व्यवस्थापन विभाग, मुख्य लगानीकर्ता विश्व बैंक, परामर्शदाता कम्पनी र वीरेन्द्रनगर नगरपालिकासहितको विज्ञ टोलीले आयोजनास्थलको स्थलगत अनुगमन गरेसँगै निर्माण प्रक्रिया अगाडि बढ्ने भएको हो ।
प्रदेशकै ठूलो नगरपालिकाको रूपमा रहेको वीरेन्द्रनगरमा आगामी ३० वर्षको अवधिमा वृद्धि हुनसक्ने जनसंख्यालाई दिर्घकालीन खानेपानीको सहज आपूर्ति पुर्याउने लक्ष्यका साथ निर्माण गर्न लागिएको आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) माथि विज्ञहरूबाट पुनः परामर्श लिने पक्रिया करिब अन्तिम चरणमा पुगेको छ ।
जसका लागि बजेटको सुनिश्चिततासमेत भइसकेको छ। संघीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा आर्थिक वर्ष २०७९÷८० देखि संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा एक सय मिलियन अमेरिकी डलरलागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत भेरी नदीको पानी लिफ्टिङ प्रविधिबाट वीरेन्द्रनगर नगरपालिकामा ल्याइने छ।
संघीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार, सम्बन्धित स्थानीय तहले २० प्रतिशत लगानी जुटाउनुपर्ने हुन्छ। कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचुअल फन्ड’ अन्तर्गत प्रदेश सरकारले चालू आर्थिक वर्ष २०७९÷०८० मा ५ करोड रुपैयाँ विनियोजन गसिरकेके छ भने नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्ग विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरेको छ। भेरी नदीमा तयार गरिने इन्टेकबाट सात किलोमिटर दूरीमा पम्पिङ गरी वीरेन्द्रनगर–११ को अमृतडाँडामा पानी ल्याइनेछ।
यस्तै पहिलो चरणकै काममा ट्यांकीदेखि वीरेन्द्रनगरसम्म मुख्य पानी प्रसारणलाइन विस्तार हुनेछ। दोस्रो चरणमा वीरेन्द्रनगर उपत्यकामा पर्ने रत्नराजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारणलाइन विस्तार गर्ने योजना छ। पहिलो र दोस्रो चरणका लागि करिब ३/३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ। निर्माण सुरु भएको ६ वर्षभित्रमा भेरी नदीको पानी उपत्यकामा ल्याउने तयारी छ। वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण खानेपानी समस्या चुलिँदो छ।