काठमाडौँ : सुर्खेतका युवा पवन थापाले कर्णालीमा सार्वजनिक यातायातको भाडादर कायम गर्न यातायात कार्यालयको ध्यानाकर्षण गराएका छन् । सोमबार उनले एक पत्र लेख्दै कर्णाली प्रदेशको यातायात कार्यालय सुर्खेतलाई तत्काल तोकिएको भाडादर कायम गर्न माग गरेका हुन् ।
विवेकशील साझा पार्टीका पूर्व युवा नेतासमेत रहेका युवा थापाले महंगो भाडा असुलेर गाडी सञ्चालकले जनतालाई मारमा पारेको भन्दै तोकिएको भाडादर लागू गराउन माग गरेका हुन् ।
थापाले यसअघि पनि चर्को भाडाविरुद्ध जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएका थिए ।
मिति: २०७९/९/२५
श्री प्रादेशिक यातायात कार्यालय,
कर्णाली प्रदेश,
सुर्खेत ।.
विषय: सार्वजनिक यातायातको निर्धारित भाडाको कार्यान्वयन सम्बन्धमा
हामीले एक वर्ष पहिलेदेखि सुर्खेत स्थित प्रादेशिक यातायात कार्यालय र तत्कालीन सुर्खेत जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा यातायात कम्पनीहरुले मनोमानी भाडा असुली रहेको भनी ध्यानाकर्षण गराएका थियौँ । हामीले ध्यानाकर्षण गराएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि उक्त कार्यलयहरूले उक्त मुद्दामा पर्याप्त ध्यान नदिनु आश्यर्यजनक र बिडम्बनापूर्वक छ ।
अब अहिलेको कुरा गरौं । केही साता अगाडि हामी सुर्खेत जिल्लाको पश्चिम क्षेत्रमा यात्रा गर्दा विभिन्न कम्पनीहरूले लिएका यातायात भाडा अस्वभाविक लागी त्यसको तोकिएको भाडादरको बारेमा तहाँको कार्यालयमा बुझ्दा हामीले धेरै पैसा तिरेको कुरा ज्ञात भयो । त्यसपछि तहाँको कार्यालयका सम्बन्धित अधिकारीहरूसँग यसको समाधानका लागि विभिन्न पटक फोनबाट सम्पर्क गरि छलफल गरेको त विदितै छ । यस विषयलाई निष्कर्षमा पुर्याउन तल दिइएका बुँदाहरू फलदायी हुन सक्छन् भन्ने लागि यहाँ प्रस्तुत गरेको छु ।
१) तहाँको कार्यालयमा दर्ता भएका सम्पूर्ण यातायात कम्पनीहरूलाई उनीहरूले यात्राको अनुमति लिएका रुटहरूको भाडादरको बारेमा जानकारी दिन पत्र प्रेषित गर्ने र कम्पनीका सञ्चालकहरूलाई उक्त भाडा दरलाई अबिलम्ब कार्यान्वयन गर्न निर्देशन दिने ।
२) उक्त भाडादरको बारेमा सर्वसाधारणलाई पनि जानकारी दिन पत्र पत्रिका, अनलाइन, सामाजिक सञ्जाल, रेडियो टीभी जस्ता सञ्चार माध्यमहरू मार्फत विज्ञापन लगायतका जानकारी दिने ।
३) यातायात कम्पनीहरूलाई निश्चित समय दिई त्योभन्दा पछाडि उक्त भाडादरको कार्यान्वयन नगरेको सन्दर्भमा कारवाही हुने बेहोरा अवगत गराउने ।
४) जिल्लागत रूपमा अनुगमन गर्न सम्बन्धित जिल्लाका जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी काम अगाडि बढाउने ।
यी कार्यहरू लगायतका आवश्यक कार्यहरू अबिलम्ब अगाडि बढाई नागरिकहरूले भोग्नुपरेको असुविधा र अन्यायलाई निवारण गर्न तहाँको कार्यालयले तदारुकताका साथ काम गर्नेछ भन्ने हामीले आशा लिएका छौँ । यस कार्यका लागि हामीले खेल्नुपर्ने भूमिका निर्वाह गर्न हामी सदा तत्पर रहेको बेहोरा पनि अवगत गराउँदछौँ ।
पवन थापा
बड्डीचौर, बराहताल - ५, सुर्खेत
फोन नं: ९८६१५५००५३
बोधार्थ:
श्री जिल्ला प्रशासन कार्यालय
सुर्खेत