काठमाडौँ : सातै प्रदेशमा जस्तै कर्णाली प्रदेश सरकारको पनि पहिलो पाँच वर्षको कार्यकाल सम्पन्न भएको छ । पाँच वर्षमा कर्णालीमा दुई मुख्यमन्त्री बने । झण्डै २५ जना हाराहारीमा मन्त्री बने । पहिलो मुख्यमन्त्री माओवादीका महेन्द्रबहादुर शाहीले साढे तीन वर्ष सरकार चलाउँदा दोस्रो मुख्यमन्त्री कांग्रेसबाट जीवनबहादुर शाही बने ।
झण्डै डेढ वर्ष सरकार चलाउने अवसर पाएका उनले मुख्यमन्त्रीको पदबाट बिदा लिइसकेका छन् । दुवै मुख्यमन्त्रीले पद सम्हाल्दा र पदबाट बिदा मागिसकेपछि धेरै कुरा एउटै शैलीमा दोहोर्याएका छन् ।
त्यो हो, मैले यति काम गरे । त्यति काम गरे । यो गरे । त्यो गरे । जस्तो पहिलो मुख्यमन्त्री महेन्द्र शाहीले आफ्नो पालामा १३ किलोमीटर सडक पीच गरेको दाबी गरेका थिए । एउटा मुख्यमन्त्री साढे तीन वर्ष काम गर्दा १३ किलोमीटर सडक मात्रै पीच गरेको भन्नु हास्यास्पद हो ।
अहिले दोस्रो मुख्यमन्त्री बनेका जीवन शाहीले पनि त्यही दाबी दोहोर्याए । उनले आफ्नो कार्यकालमा १७ किलोमीटर सडक पीच गरेको दाबी गरेका छन् । जुन अर्को हास्यास्पद हो । उनीहरुले गरेको सडक पीच कस्तो छ ? कति टिकाउ छ ? कति दिगो हुन्छ ? वा त्यो स्वभाविक चरणमा भइरहेको कामको जस लिने होडबाजी मात्रै हो भन्दा अत्युक्ति नहोला ।
किनकी पाँच वर्षमा कर्णालीका दुई जना मुख्यमन्त्रीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडिको केवल ५० मीटर सडक पनि पीच गर्न सकेनन् । पाँच वर्षदेखि पहिलेको क्षेत्रीय प्रशासक कार्यालयलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालय बनाउँदा अलपत्र बनेको सडक पाँच वर्षपछि दुई मुख्यमन्त्रीले आफ्नो कार्यकाल गुजार्दा पनि आफ्नै कार्यालय अगाडिको सडक पीच गर्ने जाँगर देखाएनन् ।
जबकी हरेक हप्ता मन्त्रिपरिषद् बैठक त्यही कार्यालयमा बस्छ, जहाँ अहिले मुख्यमन्त्री बस्छन् । भौतिक पूर्वाधार मन्त्री र दर्जन बढी सचिव त्यही बाटोमा गाडी हुइक्याउँदै मुख्यमन्त्री भेट्न र बैठक गर्न पुग्छन् ।
तर कुनै पनि मन्त्री, कुनै पनि सचिव वा दुवै जना मुख्यमन्त्रीले आफ्नै कार्यालय अगाडिको पचास मीटर सडक पीच गर्न सकेनन् । जबकी दुवै जना मुख्यमन्त्रीले आफ्नो पालामा कर्णाली विकासको नयाँ बाटोमा दौडिने दाबी गरेका थिए ।
संघीय व्यवस्थामा हतार हतार मुख्यमन्त्रीको कुर्सीमा बस्न हतारिएका दुई मुख्यमन्त्री हतारमै बिदा भएर गए । तर कर्णालीका जनताले महसुस गर्ने गरि कुनै पनि त्यस्तो काम गर्न सकेनन्, जसले उनीहरुलाई सम्झिरहनु परोस् ।
ऐतिहासिक रुपमा पहिलो र दोस्रो मुख्यमन्त्री बन्ने नाम लेखाउनुबाहेक कर्णालीका दुवै जना मुख्यमन्त्रीको कार्यकाल स्मरणीय रहन सकेन । भौतिक संरचनादेखि सुधारको काममा दुवै जना मुख्यमन्त्री नराम्ररी चुके । आलोचकहरुलाई केवल हल्लाखोर सम्झिने र आफ्ना कार्यकर्ताको स्वार्थले घेराबन्दीमा परेका दुई मुख्यमन्त्रीले प्रदेश सरकार चलाउन सक्ने विज्ञ र अनुभवी ‘स्टेरिङ कमिटी’ बनाउनै सकेनन् । जसको नतिजा पाँच वर्षको कार्यकालमा कर्णाली प्रदेश सरकार केवल कर्मचारी, सांसद, मन्त्री र मुख्यमन्त्रीलाई भत्ता र तलब खुवाउन व्यस्त देखियो ।
कार्यकर्तालाई विज्ञ सल्लाहकार ठान्ने प्रवृत्तिले काम गर्न पन्छिएका दुई मुख्यमन्त्रीले कर्णालीको सम्भावनालाई मुखले अपार भनेपनि व्यवहारमा धेरै हदसम्म स्वार्थले मात्रै प्रहार गरे । जसको ज्वलन्त उदाहरण हो, कर्णालीका ऐतिहासिक पर्यटकीय क्षेत्र ।
अनि वीरेन्द्रनगरको अस्तव्यस्त सडक र संरचना । प्रदेशको राजधानी भएपनि वीरेन्द्रनगर यति धेरै अव्यवस्थित छ, जसले त्यहाँ पालिका सरकार र प्रदेश सरकार छ भन्ने महसुस गराउन सक्दैन । पाँच वर्षसम्म आफ्नै मुख्यमन्त्री कार्यालय अगाडिको सडकसमेत पीच गर्ने जाँगर नदेखाएका दुवै मुख्यमन्त्रीले आफ्नो कार्यकालमा यति र उति काम गरे भन्नु हावादारी मात्रै हो ।
कर्मचारीको भ्रष्ट चंगुलमा परेर पनि काममा ‘डेलिभरी’ दिन नसकेका कर्णालीका मुख्यमन्त्रीले पाँच वर्ष जसरी खेर फालेका छन्, आगामी पाँच वर्ष पनि त्यसरी नै गुजार्दैनन् भनेर भन्न सकिदैन । किनकी उनीहरुमा सत्ता र कुर्सीको मात्रै भोक छ, कर्णालीका जनताको शोक छैन ।
जसले भारत, खाडी लगायतका देशमा पसिना बगाएर नेता तथा कर्मचारीलाई देश लुट्नैका लागि अर्थतन्त्र धानिदिनु परेको छ ।