सुर्खेत : कर्णाली प्रदेश सरकारले पाँच वर्षसम्म आफ्नै कार्यालय जाने सडक पीच गर्न सकेको छैन । पाँच वर्षसम्म दुई जना मुख्यमन्त्री र झण्डै २५ जना हाराहारी मन्त्री बन्दा पनि कर्णालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय जाने पचास मीटर सडक पनि पीच नभएको हो ।
पाँच वर्षको बीचमा कर्णाली प्रदेश सरकारका अरु मन्त्रालय रहेका सडक पटक पटक गरेर पीच गरिएको छ । केही सडकका डिभाइडरमा रङरोगनसमेत गरिएको छ । मुख्यमन्त्री कार्यालय जाने घण्टाघरदेखि विद्युत वितरण केन्द्र जाने बाटो हेर्दै चिल्लो देखिने गरि पीच गरिएको छ ।
तर त्यो बीचमा मुख्यमन्त्री कार्यालय जाने बाटो भने जस्ताको तस्तै छ । हामीले दुई वर्ष पहिले वर्षाको समयमा पनि मुख्यमन्त्री कार्यालय जाने सडकको फोटो खिचेका थियौँ । जतिबेला पानी पर्दा मुख्यमन्त्री कार्यालय जाने सडक हिलाम्मे बन्ने गरेको थियो ।
अहिले हिउँदको समयमा सडक पीच नहुँदा धुलाम्मे भइरहेको छ । अरु सडक पीच गरेर चिल्लो पारिदा यो सडक भने अहिलेसम्म पनि अलपत्र छ ।
मंगलबार कर्णालीका दोस्रो मुख्यमन्त्री जीवनबहादुर शाहीले पनि एक वर्ष लामो कार्याअनुभव र उपलब्धी पत्रकार सम्मेलन गरेरै सार्वजनिक गरे । तर उनका उपलब्धीमा मुख्यमन्त्री कार्यालय जाने मुख्य सडक पीच भएको कही पनि देखिएन ।
जबकी कर्णाली कायापलट गर्ने लक्ष्य र उद्धेश्य बोकेर ६ ‘ब’ को सिद्धान्तसहित मुख्यमन्त्रीको कुर्सीमा बसेका शाहीले एक वर्ष आफैँ बसेको कार्यालय जाने सडक समेत पीच गर्न सकेनन् । केवल पचास मीटर सडक पाँच वर्षदेखि अलपत्र छ भने त्यही बाटो धुलो उडाएर मन्त्री तथा मुख्यमन्त्री गाडीमा वर्षौ हिडेका छन् ।
बजारदेखि मुख्यमन्त्री कार्यालय जाने सडक पनि राम्रो देखिन्छ । केही ठाउँको सडक त आहा ! भन्ने खालको छ । तर मुख्यमन्त्री कार्यालयको ढोकासम्म पुग्ने सडक भने धुलाम्मे छ ।
बेला बेला ग्राभेल गरिएको सडक पाँच वर्षसम्म पनि पीच गरिएन । जबकी मुख्यमन्त्री कार्यालयमा सयौँ मन्त्रिपरिषद् बैठक, सचिवहरुको बैठक, विदेशी दातृ निकायका बैठक र अन्य सरोकारवाला बैठक भएका छन् ।
कर्णाली प्रदेश सरकार हाँक्ने र सञ्चालन गर्ने सयौँ व्यक्ति तथा कर्मचारीको ध्यान एउटा ५० मीटर सडक पीच गर्ने कुरामा गएको देखिएन ।
मुख्यमन्त्री कार्यालय जाने बाटोकै छेउमा अख्तियारको कार्यालय छ । ठूलो र भव्य कार्यालय चिटिक्क पारिएको छ । कार्यालयको गेट पनि आधुनिक छ । तर कार्यालयको गेटसम्म जाने बाटो बिजोग छ । मुख्यमन्त्री र अख्तियार कार्यालय जाने बाटो यो हदसम्म बिजोग र अव्यवस्थित छ भन्ने कुरा कसैले कल्पना गरेको हुँदैन ।
तर वास्तविकता मुख्यमन्त्री कार्यालय पुग्ने बेलाको सडकको अवस्थाले नै कर्णाली प्रदेश सरकार आफ्नै संरचना र सडक बनाउन कतिसम्म लापरबाही गरिरहेको छ भन्ने देखाउँछ ।
मुख्यमन्त्री कार्यालय जाने बाटो अझ व्यवस्थित र विशेष रुपमा बनाउन सकिन्थ्यो । किनकी कर्णाली प्रदेश भर्जिन हो । कर्णालीमा लगानी गर्ने उद्धेश्य बोकेका सयौँ दातृ निकाय र लगानीकर्ता कार्यालयमा छलफलका लागि पुग्छन् ।
पर्यटकीय र सांस्कृतिक दृष्टिकोणले अत्यन्तै धनी कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालयले त्यसको झल्को सडकदेखि भित्र कार्यालयसम्म दिन सक्थ्यो । तर आफ्नै कार्यालय जाने सडक बनाउन कर्णाली हाक्ने मुख्यमन्त्रीको ध्यान पुगेको देखिएन ।
मुख्यमन्त्री कार्यालय अगाडिको गेट र सडकको अवस्था झन् बिजोग छ । सडककै अगाडि ढुंगा, गिट्टी र बालुवा राखेको वर्षौ भएपनि त्यो सडक पीचका लागि प्रयोग भएको देखिएन । दुई महिनाअघिसम्म मुख्यमन्त्री कार्यालय मर्मतसम्भार गरिएको थियो । तर कार्यालय मर्मत गर्दा सडकलाई भने मुख्यमन्त्री कार्यालयले नै बेवास्ता गरेको देखियो ।
मुख्यमन्त्री कार्यालय प्रदेश सरकारकै इज्जत र शानका रुपमा हेरिन्छ । मुख्यमन्त्री कार्यालय र कार्यालय जाने सडकदेखि त्यसको व्यवस्थापनले मुख्यमन्त्रीको काम र उनको सरकारको मूल्यांकन गर्ने गरिन्छ । यो आम मानिसदेखि उच्च तहका सरोकारवालाले पनि सोच्ने विषय हो ।
तर कर्णाली प्रदेश सरकारको पाँच वर्षमा दुई दुई जना मुख्यमन्त्री हुँदा पनि आफ्नै कार्यालय जाने सडक कालोपत्रे गर्न चाँसो देखाएनन् । यसले कर्णाली प्रदेश सरकारले पाँच वर्षमा ऐतिहासिक अवसर पाएपनि त्यो व्यवहारमा देखाउन नसकेको प्रष्ट देखिएको छ ।
मुख्यमन्त्री कार्यालय बाहिर फोहोरको थुप्रो देखिन्छ । त्यसको व्यवस्थापनमा पनि चाँसो छैन । करोडौँ बजेट विकासे काममा खर्च गर्ने प्रदेश सरकारले आफ्नै कार्यालयबाहिरका पर्खाललाई व्यवस्थित गर्न नसक्नु दुःखद मात्रै होइन, असभ्य र पाँच वर्षे कार्यकालको ऐतिहासिक असफलता हो ।
आफ्नै कार्यालय अगाडिको सडक पीच गर्न पनि तत्परता देखाउन नसकेका मुख्यमन्त्रीले गर्दा कर्णाली राजमार्ग स्तरन्नोति नभएको, गएको वर्षामा बाढी तथा पहिरो आउँदा महिनौँ बन्द भएको सडक खोल्न र त्यसको दिगो समाधान खोज्न कुनै पहलकदमी लिएको पनि देखिएन ।
किनकी भौगोलिक रुपमा धेरै कठिनाई झेलिरहेका कर्णालीका बासिन्दालाई सडक सुविधा दिन कर्णाली प्रदेशका सांसद, मन्त्री र मुख्यमन्त्री पटक पटक असफल छन् । जसको नयाँ उदाहरण तथा नमूना काम मुख्यमन्त्री कार्यालय जाने सडकले देखाएको छ ।
कागजी पानामा कर्णाली प्रदेशमा धेरै कामको उपलब्धी देखाउने मन्त्री र मुख्यमन्त्रीले भइरहेको कामलाई छिटो सम्पन्न गरेर प्रदेशका नागरिकलाई प्रदेश सरकारको महसुस गराउन सकेका छैनन् । दुई वर्ष पहिले वर्षातको बेला हिलाम्मे बन्ने सडक अहिले हिउँदमा धुलाम्मे बनिरहेको छ ।
आफ्नै कार्यालय जाने सडक पीच गर्न नसकेर थोरै पनि नैतिकताको ख्याल नगर्ने दुई दुई जना मुख्यमन्त्री सम्भवतः कर्णालीका जनताको नजरमा गैरजिम्मेवार नेता मात्रै होइनन्, पाँच वर्षे सरकारको नेतृत्वमा असफल पनि हुन् । उनीहरुले कागजमा देखाउने सयौँ उपलब्धी र व्यवहारमा देखिने शून्यताले यही कुराको पुष्टि गर्छ ।