काठमाडौँ: प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अब मुलुकमा सामाजिक न्याय, सुशासन र समृद्धिको नयाँ युगको थालनी गर्नुपर्ने बताए।
माओवादीको सहायक सङ्गठन योङ कम्युनिष्ट लिग (वाइसिएल)को केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै उनले मुलुकको आर्थिक समृद्धिलाई आफूले सपनाका रुपमा लिएको र वर्तमान सरकारले त्यसलाई पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मैले यसलाई सङ्कल्प र प्रतिबद्धताका रुपमा लिएको छु, एउटा प्रधानमन्त्रीले चाहेर मात्र पनि हुँदैन, समृद्धिको यात्रा हासिल गर्न विभिन्न जनसङ्गठनले साथ दिनुपर्छ । सरकार र पार्टीलाई यो चुनौतीपूर्ण अवसरलाई सफल पार्न तपाइँहरुले संस्थागत रुपले पहलकदमी गर्नुपर्नेछ ।
सरकारको नेतृत्वका रुपमा पाएको यो अवसरलाई सदुपयोग गर्नुपर्नेमा आफू सचेत रहेको जनाउँदै उनले वर्तमान सरकारले चुनौतीलाई चिर्न सफल हुने बताए । जनताको विकास निर्माणसम्बन्धी आकाङ्क्षा पूरा गर्न र भ्रष्टाचार नियन्त्रणमा कठोर रूपमा अघि बढ्नुपर्छ”, प्रधानमन्त्री दाहालले भने आर्थिक समृद्धिको जुन कल्पना गरेका छौँ । त्यसलाई पूरा गर्नु छ । त्यसपछि देशमा नयाँ युग सुरु हुनेछ ।
अध्यक्ष दाहालले जनताको घरघरमा पार्टीलाई विस्तार गर्न र पार्टी सुदृढीकरणको अभियानलाई व्यापक बनाउन आग्रह गरेका छन् । पार्टीमा युवाको सहभागिता बढाउन २० प्रतिशत युवा प्रतिनिधित्व सुनिश्चित गरिएको जनाउँदै उनले पार्टी निर्माणमा लाग्न युवालाई निर्देशन दिए ।
राजधानीमा मङ्गलबारदेखि सुरु तेस्रो पूर्ण बैठकमा समसामयिक राजनीतिक परिस्थितिको विश्लेषण, आगामी कार्यदिशाका बारेमा छलफल भएको थियो । बैठकको पहिलो दिन उपाध्यक्ष कृष्णबहादुर महराले प्रशिक्षण दिएका थिए। वाइसिएलले ‘जनताको घरदैलोमा वाइसिएल’ अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।