मुगु : जिल्लाको छायाँनाथ रारा नगरपालिकाकाले अन्तरजातीय विवाह गर्नेलाई एक लाख रूपैयाँ दिने भएको छ।
छायाँनाथ रारा नगरपालिकाको १२औँ विधेयक नगर सभाले जातियविभेद विरुद्ध दलित नीति नियमावली पास गर्नुका साथै उमेर पुगेका युवाहरुले अन्तजातीय विवाह गरेमा उनीहरुलाई पोत्साहन स्वरुप एक लाख रकम उपलब्ध गराउने भएको हो ।
जातीय छुवाछुत तथा विभेद अन्त्यका लागी नेपाल सरकारले पनि विभिन्न नीति बनाएको र त्यस अनुसार यस नगरपालिकाले दलितको हक अधिकारका लागी दलित नीति नियमावली २०७९ सभाबाट पास गरेर दलित छुवाछुत अन्त्यका लागि निति निमार्ण गरेर सभाबाट बहुमतले पास भएकाले त्यसै अनुरुप काम गरिने छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख बिष्णुकुमार भामले बताए ।
उनले पालिकाभित्रका १ देखि १४ वडा सम्मका एक हजार तीन सय दलित घरधुरी रहेको जानकारी दिए । संस्कृति, बाजा र सिपमूलक आर्यआजनका लागि प्रति घरधुरी पहिलो चरणमा दुई हजार पाँच सयका दरले दलित भत्ता उपलब्ध गराइने उनले बताए । सो भत्ता अन्तिम पाचँ वर्षको कार्यकालमा पाँच हजार रुपैयाँसम्म पुर्याउने लक्ष्य रहेको उनको भनाइ छ ।
विधेयक नगरसभाबाट विभिन्न १० वटा नीति, नियमावली, कार्यविधि र निर्देशिका बहुमतले पारित गरेको छ । बेरोजगारीको समस्याले चपेटामा परेका युवा कुलतमा फस्दै गइरहेकाले त्यसको रोकथामका लागि नगरस्तरीय सुधारगृह सञ्चालन कार्यविधि २०७९, अपाङ्गता भएका व्यक्तिको हक हितका लागि अपाङ्गता नियमावली २०७९, नगरपालिकास्तरमा नगरपालिकाले नगरबस सञ्चालनमा ल्याउने र नागरिकको हितका लागि अति आवश्यक भएकाले नगर बस सञ्चालन कार्यविधि २०७९, व्यावसायिक दर्ता तथा नवीकरण कार्यनिर्देशिका २०७९, महिला हेल्प डेस्क कार्यविधि, महिलासँग उपप्रमुख कार्यक्रम सञ्चालन कार्यविधि, खानेपानी तथा सरसफाई निर्देशिका नियमावली र विपत् जोखीम न्यूनीकरण नियमावली २०७९ सभाबाट पारित भएका छन् ।