काठमाडौँ: माघे संक्रान्तिको अवसरमा आज नुवाकोटको विभिन्न स्थानहरूमो गोरु जुधाई मेला हुँदैछ । नुवाकोटको तारुकालगायत विभिन्न स्थानमा ४८ हल गोरु जुध्ने भएका हुन् । विजेताहलाई ५० हजार रुपैयाँसम्म नगद पुरस्कार राखिएको छ ।
गोरु जुधाई मेलाको लागि गोरु दर्ता गराउने काम सकिएसँगै हल गोरु ठूला जुरो बनाउँदै मैदानमा उत्रिएका छन्। आइतवार नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाउँपालिकालगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता गरिँदै छ।
आइतबार नुवाकोटको तारुका (तारकेश्वर गाउँपालिका), बेत्रावती (विदुर नगरपालिका), पञ्चकन्या, लिखु, तादी गाउँपालिकालगायतका स्थानमा गोरु जुधाई प्रतियोगिता गरिँदै छ ।
अन्य स्थानको भन्दा नुवाकोटको तारुका, चन्दनीको गोरु जुधाई मेला विशेष र चर्चित रहेको छ । यस पटक तारुकमा गोरु जुधाई महोत्सव र बेत्रावतीको गोरु जुधाईलाई मेलालाई आयोजकहरूले विशेष रुपमा आयोजना गरिएको जनाएका छन् ।
अघिल्ला वर्षजस्तै यस वर्ष आगामी माघ १ गतेसहित माघ २ गतेसमेत गोरु जुधाउन लागिएको छ । यस वर्ष गोरु जुधाइ मेलालाई ‘महोत्सव’का रूपमा सञ्चालन गर्न लागिएको छ । गोरु जुधाइ प्रतिस्पर्धालाई व्यवस्थित, आकर्षक, रोचक र थप मनोरञ्जनात्मक गतिविधिसमेत संलग्न गराइने भएकाले यस वर्ष दुई दिन गोरु जुधाउन लागिएको हो ।
तारुकामा २८, पन्चकन्यामा ११ र वेत्रावतिमा नौ हल गोरु जुधाउने कार्य सुरु भएको छ। पन्चकन्या गापा- ३ पिपलडांडामा विजेता गोरु धनीलाई नगद ५० हजार रुपैयाँ पुरस्कार दिइने आयोजक समितिका संयोजक गणेश खनालले जानकारी दिए।
ऐतिहासिक सांस्कृतिक जगेर्ना र पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले तारुकामा गोरु जुधाई सांस्कृतिक महोत्सवको आयोजना गरिएको आयोजक समितिका अध्यक्ष मदनकुमार श्रेष्ठले जानकारी दिए। जुधाइने गोरु दुई हजार रुपैयाँ पछि फिर्ता हुने गरि शुल्क लिइएको छ भने गोरुको वर्गिकरण गरी क, ख र ग वर्ग अनुसार पुरस्कार दिइने उनको भनाई छ।
तारुकाको गोरु जुधाइको महत्व विशेष छ । यहाँको गोरु जुधाइ स्पेनको बुलफाइटभन्दा बढी रोचक हुने हुदाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको प्राथमिकतामा पर्दछ । तारकेश्वर गाउँपालिका–३ तारुका चन्दनीस्थित कटहरबोट पाटोमा पुग्न काठमाडौँबाट ६० किलोमिटर दूरी छ ।
काठमाडौँबाट धादिङको गल्छीसम्म (पृथ्वी राजमार्ग) ४८ किमी, गल्छीबाट बेलकोटगढी–७ रातमाटेसम्म छ किमी सडक व्यवस्थित कालोपत्र सडक छ । तारकेश्वर वडा नं ३ का वडाध्यक्ष सूर्यमान श्रेष्ठको अनुसार रातमाटेस्थित त्रिशूली नदीमा निर्माण गरिएको पक्की पुल केही समयअघिदेखि सञ्चालनमा ल्याइएको छ । रातमाटेको पक्की पुल तरेर तारुका पुग्न थप छ किमी कच्ची बाटोको दूरी यात्रा गर्नुपर्दछ ।
धादिङबेँसीबाट दाङसिंह हुँदै आउन पनि सकिन्छ भने सबैभन्दा सहज ‘गल्छी–रातमाटे–तारुका’ १२ किमी दूरीको सडकमार्गबाट गोरु जुधाइ हेर्न चन्दनीस्थित कटहरबोट पाटोमा पुग्न सकिन्छ ।