काठमाडौँ: सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे÷नगरेको अनुगमन गर्न नागरिक उड्डयन प्राधिरकणलाई निर्देशन दिएको उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए ।
आन्तरिक उडानमा रहेका विमानको प्राविधिक पक्षको परीक्षण अनिवार्य गर्ने व्यवस्थाले हवाई दुर्घटना कम गर्न सघाउ पुग्ने हाम्रो अपेक्षा छ । बैठकका निर्णयबारे जानकारी दिँदै उनले भने बैठकले घटना प्रति गहिरो दुःख व्यक्त गरेको छ । दिवंगतप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
बैठकले दुर्घटनामा परी निधन भएका व्यक्तिका परिवारप्रति गहिरो समवेदना प्रकट गरेको छ । बैठकले माघ २ गते सोमबार दुर्घटनाका सन्दर्भमा शोक मनाउने र एक दिन सार्वजनिक बिदा गर्ने निर्णय गरेको छ ।
घटनाबारेमा जानकारी लिन चाहने परिवार, आफन्त र अन्य सरोकारवालाका लागि सम्पर्क र विश्वसनीय सूचनाको प्रबन्ध गर्न त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय गरेको उहाँले जानकारी दिए ।
सरकारले पार्थिव शरीर बुझ्न र आ-आफ्नो स्थानमा लैजान चाहनेका लागि सहजीकरण गर्न आवश्यक प्रबन्ध मिलाउने निर्णयसमेत गरेको छ । घटनापछि त्यसबारेमा जानकारी लिने र तत्काल उद्धारका लागि आवश्यक निर्देशन दिइएको उनले बताए । राज्यका सबै निकायलाई परिचालन गर्नेमा प्रधानमन्त्री लाग्नुभएको छ।
राज्यका सम्बद्ध निकाय त्यसैअनुसार परिचालित छन् । आज बिहान करिब ११ बजे नेपालको हवाई दुर्घटनाको इतिहासमा अत्यन्त दुःखद घटना भएको उनको भनाइ छ ।
काठमाडौँबाट पोखराका लागि उडेको यती एयरलाइन्सको विमान आज बिहान पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । विमानमा चालक दलका कमल केसीसहित ७२ जना सवार थिए ।