काठमाडौँ : पुरुषले आफ्नो ३० वर्षको उमेरपछि विभिन्न स्वास्थ्य परीक्षण गर्नुपर्छ । ३० वर्षको उमेरपछि पारिवारिक जिम्मेवारी बढ्ने गर्छ भने शारीरिक अवस्था पहिलेभन्दा कमजोर हुँदै जान्छ । त्यसकारण सबै नसकेपनि कम्तीमा ७ वटा स्वास्थ्य परीक्षण गर्नैपर्छ । जुन निम्नानुसार छन्ः
१. प्रोस्टेट क्यान्सर परीक्षण
धेरै पुरुषले बुढ्यौलीमा झेल्ने समस्या हो, प्रोस्टेटको समस्या । पुरुषहरुमा ४० वर्ष कटेपछि नै प्रोस्टेट ग्रन्थीको आकार बढ्न थाल्छ । आकार बढेसँगै कतिपय पुरुषमा प्रोस्टेट क्यान्सरको सम्भावना पनि रहन्छ ।
प्रोस्टेट क्यान्सरका लक्षण छिटो देखिँदैन । प्रोस्टेटको समस्या वा क्यान्सर भैसकेको छ, छैन परीक्षण गर्न ४० वर्ष कटेपछि प्रोस्टेटको परीक्षण गर्नु आवश्यक छ ।
यसरी समयमै परीक्षण गरेमा क्यान्सरको जोखिम र भइसकेको खण्डमा छिटो उपचार प्रक्रिया सुरु गर्न मद्दत पुग्छ ।
२. फोक्सो क्यान्सर परीक्षण
तुलनात्मक रुपमा पुरुषहरु बढी चुरोट खाने गर्छन् । कति त चेन स्मोकर नै हुन्छन् । त्यसैगरी कतिले किशोरावस्थादेखि चुरोट खान सुरु गर्छन् ।
यसरी पुरुषहरु जहिलेपनि फोक्सोको क्यान्सरको जोखिममा हुन्छन् । नियमित रुपमा चुरोट खानेहरुले त फोक्सोको परीक्षण गराउनैपर्छ ।
३. कोलेस्टेरोल परीक्षण
कोलेस्टेरोल भएको तुरुन्त थाहा हुँदैन । वा यसको खास लक्षण देखिदैन । त्यसैले धेरैले कोलेस्टेरोलको जाँच गराउँदैनन् । जबकि लामो समयदेखि कोलेस्टेरोल बढ्दै गएर अचानक हृदयघात हुने जोखिम हुन्छ । त्यसैले पुरुषले बेला बेलामा कोलेस्टेरोलको परीक्षण गराउनु जरुरी हुन्छ ।
मोटोपना भएका, चुरोट सेवन गर्ने वा परिवारमा कसैलाई मुटुरोग भइसकेको र हृदयघात भएको इतिहास छ भने कोलेस्टेरोलको जोखिम अरु बढी हुनसक्छ । त्यसैले उनीहरुले २० बर्षको उमेरपछि नै कोलेस्टेरोलको जाँच गराउनुपर्छ ।
४. कोलोनस्कोपी परीक्षण
बढ्दो उमेरसँगै पुरुषको आन्द्रामा समस्या वा क्यान्सर हुने जोखिम बढ्छ । आन्द्रामा देखिने स–साना गाँठो नै पछि क्यान्सरको रुप लिन सक्छ ।त्यसैले, यस्ता गाठाँगुठी छ भने तुरुन्त परीक्षण गर्नुपर्छ । सुरुवाती अवस्थामा नै रोग पत्ता लगाउन सके उपचार सहज र संभव हुन्छ ।
५० वर्षको उमेर पछि कोलोनोस्कोपी परीक्षण गरेमा आन्द्रामा हुने समस्या वा क्यान्सर लाग्ने जोखिमबाट बच्न सकिन्छ । परिवारमा पहिला नै आन्द्राको क्यान्सर रहेको इतिहास छ भने त ५० को उमेर भन्दा चाँडै कोलोनस्कोपी गराउनुपर्छ ।
५. मानसिक स्वास्थ्य
अक्सर पुरुषहरुको स्वभाव के हुन्छ भने खुलेर आफ्नो कुरा व्यक्त नगर्ने । उनीहरु आफ्नो दुःख मात्र होइन खुसी पनि लुकाउने गर्छन् । मनको कुरालाई साझेदार गर्दैनन् । यही कारण उनीहरुमा तनाव र चिन्ता जस्ता मानसिक विकार बढ्ने जोखिम हुन्छ । तथ्यांक अनुसार वर्षेनी ५ जनामध्ये एकजना वयस्क मानसिक रोगबाट ग्रसित छन् ।
त्यसैले पुरुषहरुले आफ्नो मानसिक स्वास्थ्यबारे पनि बेलाबखत परामर्श गराउनु उचित हुन्छ ।
६. उच्च रक्तचाप र मुटुको स्वास्थ्य
उमेरले ३० बर्ष पार गरेपछि पुरुषहरुमा उच्च रक्तचापको जोखिम बढ्न थाल्छ । खानपान, जीवनशैलीसँगै बढ्दो उमेरमा मुटुको कार्यक्षमता पनि कमजोर हुँदै जान्छ ।
खासगरी रक्सी पिउने, चुरोट खाने पुरुषमा यो जोखिम बढी हुन्छ । उनीहरुले समयमा नै रक्तचापको परीक्षण गराउनुपर्छ । यदि उच्च रक्तचाप भएमा त्यसलाई नियन्त्रण गर्न जीवनशैली परिवर्तन गर्ने हो वा औषधिसमेत खानुपर्ने हो रु चिकित्सकको परामर्श लिनुपर्ने हुन्छ ।
यदि रक्तचाप सामान्य भएमा पनि बर्षेनी परीक्षण भने गराउनु उचित हुन्छ ।
७. मधुमेह
उमेर बढ्दै गएपछि पुरुषले मधुमेहको जाँच पनि गर्नु जरुरी हुन्छ । खासगरी मोटोपन भएका वा निस्क्रिय जीवन विताइरहेकाहरुमा मधुमेहको जोखिम उच्च हुन्छ । यस्तै चुरोट र रक्सी सेवन गर्नेहरुमा यो जोखिम अरु बढ्छ ।
मधुमेहले मुटुरोग, मस्तिष्कघाट, यौन दुर्बलता, दृष्टि कमजोर हुने समस्या ल्याउँछ । त्यसैले पुरुषले ३० बर्षको उमेरपछि मधुमेहको परीक्षण गराउनुपर्छ ।