काठमाडौँ : कर्णालीबाट एक मात्रै टावर लिडर हुन्, पूर्णबहादुर खड्का । जो देशको सबैभन्दा ठूलो, जेठो र शक्तिशाली पार्टीको उपसभापति छन् । बहुदल आएपछि विद्यार्थी राजनीतिबाट कांग्रेसमा लागेका खड्का गणतन्त्र आएपछि शक्तिकेन्द्रित राजनीतिमा सक्रिय भएका हुन् ।
कांग्रेस केन्द्रीय सदस्य हुँदै देश संघीयतामा जाँदा खड्का सहमहामन्त्री भएका थिए । त्यसपछि पश्चिमका एक्ला मुख्य नेता शेरबहादुर देउवा गुटमा लागेका खड्का महामन्त्री हुँदै अहिले उपसभापतिका रुपमा विराजमान छन् ।
उटा व्यक्ति कांग्रेसको सभापतिमा दुई कार्यकाल मात्रै रहन सक्ने भएकाले यसपटक देउवा सभापतिको उम्मेद्वार बन्न सक्ने छैनन् । यसकारण सभापतिको दाबेदारमा कम्तीमा देउवाका लागि सबैभन्दा बलिया उममेद्वार हुन्, उसपभाित पूर्णबहादुर खड्का ।
तर सभापति पद मुखैमा आउन लागेका बेला खड्का भने डेन्जर जोनमा छन् । देउवा अब सभापति नरहने भएपछि उनका प्रभावशाली नेताहरु विस्तारै गुट छाड्न लागेका छन् । गुट छाड्ने सूचिमा बालकृष्ण खाँणदेखि प्रकासशरण महत लगायत छन् ।
अनलाइनखबर डटकमका अनुसार खाँण, महत मात्रै होइन, एनपी साउद, डिना उपाध्याय, मोहन बस्नेत लगायत छन् । खाँण लुम्बिनी प्रदेशकै सबैभन्दा शक्तिशाली नेता हुन् । महत बागमती प्रदेशका शक्तिशाली र पछिल्लो समय देउवाका सबैभन्दा निकट नेता हुन् ।
सुदूरपश्चिममा रमेश लेखकपछि एनपी सावद शक्तिशाली छन् । महिला क्षेत्रमा डिना पछिल्लो समय देउवाको किचेन क्याबिनेटमा काम गरेकी नेता हुन् । देउवाको निकट रहेर काम गरिसकेका नेताहरुले गुट छाड्ने तयारी गरेपछि यसको सबैभन्दा ठूलो असर खड्कामा पर्नेछ ।
किनभने देउवाको विश्वासपात्र भएर कांग्रेसमा प्रभाव जमाएका नेता खड्का हुन् । यद्यपी उनको देउवा पत्नी आरजु राणासँग राम्रो सम्बन्ध छैन । पार्टीमा अस्वभाविक रुपमा हस्तक्षेप गरेको भन्दै खड्का देउवा पत्नी राणासँग असन्तुष्ट थिए । सायद, त्यसैको प्रभाव हुन सक्छ, अहिले खड्का सभापति हुने बाटोमा हुँदा देउवा मौन छन्, राणा सरकारकै दौडधुपमा छिन्, पार्टीका अरु शक्तिशाली नेताहरु भविष्यको सुनिश्चित गर्न गुट फेरको रणनीतिमा देखिन्छन् ।
यस्तोमा अब खड्का के गर्लान ? प्रश्न गम्भीर छ । उनी पछिल्लो १० वर्षदेखि नेपालको राजनीतिमा सबैभन्दा बढी प्रभावशाली देखिए । खासगरी देउवालाई चलायमान बनाउन, गुट शक्तिशाली बनाउन र त्यही अनुसार पार्टी र सरकारमा कांग्रेसको हात बलियो बनाउन ।
तर जब जब आफू पदमा पुग्ने बेला भयो । खड्का विस्तारै कर्नरमा धकेलिन थालेका छन् । उसो त देउवा गुटबाट कृष्ण सिटौला, शसांक कोइराला, विमलेन्द्र निधि र गोपालमान श्रेष्ठ पनि सभापतिको दौडमा छन् । यता संस्थापनइतर समूहबाट शेखर कोइराला र गगन थापा सभापतिका घोषित उम्मेद्वार हुन् ।
गगन र शेखरमध्ये पनि एक जना मैदानमा उत्रिने सम्भावना छ । कांग्रेसमात्रै होइन, सिंगो देश अहिले राजनीतिमा पूस्तान्तरण भएको हेर्न चाहिरहेको छ । जसको नेतृत्व रवि लामिछानेले गरिरहेका छन् । उनको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा विस्तारै फैलिदैँ र झांगिदै गएको पनि छ ।
यस्तोमा कांग्रेसबाट गगन थापा पार्टी सभापति र प्रधानमन्त्रीका सबैभन्दा बलिया उम्मेदा्वार देखिन्छन् । तर उनलाई पनि पार्टीभित्रै शेखरबाट सहयोग मिलिरहेको छैन । यस्तो गगन उपसभापति बसेर प्रधानमन्त्रीका लागि लड्न सक्छन् ।
यस्तोमा कांग्रेसभित्र र बाहिर खड्काको अनुकूलमा माहोल बन्ने अवस्था देखिदैन । यतिका वर्ष कांग्रेसको राजनीति गरेर पार्टीको नेतृत्वमा पुग्ने बेला सबै प्रतिकूल बन्दै जानु खड्का लागि मात्रै दुर्भाग्य हो कि सिंगो कर्णालीका लागि ? यो प्रश्न एउटा प्रदेशको आशा र भरोसामा पनि खड्का जस्ता टावर लिडरले पनि आफू र समग्र प्रदेशको इतिहास लेख्ने बेला साहसिक निर्णय गरेर त्यही अनुसार अगाडि बढ्न नसकेको कमजोरीका रुपमा देखिनेछ ।
यद्यपी अहिल्यै यसबारेमा त्यति धेरै टिप्पणी गर्न हतार हुन सक्छ । किनकी कांग्रेसको आगामी महाधिवेशन २०८४ को चुनाव अगाडि गर्ने कि पछाडि भन्नेमा पनि ठूलो अन्यौल छ । यो अन्यौलतमा खड्काले आफूलाई कसरी सभापतिमा एक्सपोज गर्न सक्लान भन्ने अर्को अन्योल कायम छ ।
प्रकाशित मिति: शनिबार, फागुन १०, २०८१ ००:०६