सुर्खेत : विश्वव्यापी कम्युनिष्टको नजरमा व्यापार र उत्पादन भनेको दलाल पूँजीवाद हो । मानिसहरुले आफ्नै पेशा व्यवसाय गरेर मनग्य पैँसा कमाउनु भनेको दलाल पूँजीवादको नमूना हो । आजभन्दा २५ वर्षपहिले नेकपा माओवादी नामको पार्टीले यही शब्दलाई उचाल्दै धेरै व्यापारीको घाँटी रेट्यो । चन्दा दिनेलाई छाडेर चन्दा नदिनेलाई जनकारबाही गरेका धेरै उदाहरण छन् ।
पुष्पकमल दाहाल प्रचण्ड नाम गरेका नेताले त्यसको नेतृत्व गरेका थिए । जो माओवादीका एक समय अध्यक्ष थिए । अहिले त्यही पार्टी माओवादी केन्द्र भएको छ । त्यही पार्टीबाट आफ्नो भाग र भाग्य खोज्न छुट्टिएका नेत्रविक्रम चन्द विप्लव नाम गरेका नेता अहिले कृषि क्रान्तिका नाममा जुम्लामा स्याउ रोप्न पुगेको खबर सञ्चारमाध्यममा भाइरल छ ।
उनले आफ्नै जिल्लामा ठूलो मात्रामा धान खेती गरेका छन् । आफ्नै पार्टीका नेता कार्यकर्तालाई कामदार बनाएर उनले कम्युनिष्ट पार्टीका नाममा अन्न उत्पादन गरिरहेका छन् । एक समय त्यसरी ठूलो मात्रामा अन्न उत्पादन गर्ने व्यवसायिक किसानलाई उनी दलाल पुँजीवादको नाइके भन्थे । अहिले त्यही नायक आफू भएपछि यसलाई कृषि क्रान्ति भनिरहेका छन् ।
हिजो त्यसरी अन्न उत्पादन गरेर मनग्य पैँसा कमाइरहेका व्यापारी वा किसानलाई विप्लव दलाल भन्थे । सुरुमा चन्दा माग्थे । त्यसरी नदिए, खेतबारी कब्जा गरेर व्यापारीलाई कि भगाउँथे, कि दबाउँथे । अहिले हतियार छाडेर शान्तिपूर्ण राजनीतिमा आएको माअोवादी र त्यसका एक ठूलै मानिने नेता अहिले कृषि क्रान्तिको नाममा दलाल पुँजीवादको रिहर्सल गरिरहेका छन् ।
यसलाई उनले उत्पादनसँग जोडेर देशलाई कृषिमा आत्मनिर्भर बनाउने पनि भनिरहेका छन् । नवलपरासीमा धान र आलू फलाएर राम्रै पैँसा कमाइरहेका विप्लव त्यसैबाट पार्टी चलाइरहेका छन् । अनि त्यही पार्टीमा कार्यकर्ता बनेका कतिपय युवालाई उनले निःशुल्क काममा लगाउँछन् । जसलाई उनले श्रमदान र जनताको सेवा पनि भनिरहेका छन् । हिजोका दिनमा त्यो श्रमको शोषण थियो । अहिले विप्लवको नजरिया फरक बनेको छ ।
युवाहरु काम र रोजागरी नपाएर विदेश गइरहेका छन् । त्यसमा कतिपय उनकै पार्टीका युवा नेता र कार्यकर्ता छन् । त्यतापट्टि उनको ध्यान छैन । कृषि क्रान्ति गर्न आजभन्दा ३० वर्षपहिले सम्भव थिए । व्यवस्था बदल्न हतियार उठाउँदा दलाल पुँजीवाद नभनी किसान र व्यापारीलाई उनीहरुको स्वतन्त्रमा सहयोगी बनेको भए, आज त्यसको जस माओवादी र विप्लवले पाउने थिए होलान् ।
तर त्यतिबेला माओवादीले केवल बन्दुक, बारुद र वादलाई मात्रै परिवर्तन ठान्यो । व्यापार तथा व्यवसाय नै देश परिवर्तनको प्रमुख हिस्सा हो भन्ने बुझेन । आज त्यसैको परिणाम हुनुपर्छ, देशमा व्यापार व्यवसाय गर्ने व्यापारीको संख्यामा कमी छैन । तर लाखौँ युवाहरु सुरक्षित भविष्य खोज्दै देश छाडिरहेका छन् । सुरुमा यसको जिम्मेवारी कृषि क्रान्तिको नायक आफूलाई सम्झिने विप्लवले पनि लिनुपर्छ ।
कर्णालीमा स्याउ अभियान के हो ?
काठमाडौँजस्तै कर्णालीको पनि व्यवस्था बदलिसकेको छ । तर अवस्था जति फेरिनुपर्ने थियो, त्यो अझै छैन । गरीबी कर्णालीमा व्याप्त छ । रोजगारीका लागि पहिले भारत र अहिले खाडी जाने क्रम रोकिएको छैन । कर्णालीमा पनि स्थानीय र कर्णाली प्रदेश सरकार छन्, तर ती केवल नेता, कार्यकर्ता र पहुँच भएकालाई मात्रै छैन । सेवा बाहेक नागरिकको भरोसाको पात्र स्थानीय र प्रदेश सरकारका जनप्रतिनिधि बन्न सकेका छैनन् ।
यस्तोमा विप्लवले जुम्लामा स्याउ रोप्ने अभियान चलाइरहेका छन् । जुम्लाको हिमा गाउँपालिका-७ धौलापानीमा १४ हजार वर्गमिटर जमिनमा विप्लव आफैँ पुगेर स्याउ रोपिरहेका हुन् । उनले त्यहाँ वर्षौदेखि स्याउ रोपिरहेका किसान, स्याउ फलाएर टिपेर, ढुवानी गरेर, कष्ट काटेर उपभोक्तालाई बेचिरहेका व्यापारीलाई सोधेका छैनन्, उनीहरुको समस्या के छ, त्यो पनि बुझेका छैनन् ।
बस, विप्लवलाई कृषि क्रान्ति गर्नुछ, अनि तिनै किसानको केही भाग पैँसामा किनेर वा लोभ देखाएर क्रान्ति गर्नुछ । कम्युनिष्ट नेताहरु त सेवामा विश्वास गर्छन् । किसानको सहयोगी बन्छन् । उनीहरुलाई उत्पादन र आम्दानी बढाउन वैज्ञानिक बाटो र पाटोलाई सुझाउँछन् । तर नेपालमा ठीक उल्टो छ । हिजो तिनै उत्पादन र आम्दानी गर्ने किसान दलाल पुँजीवादी हुन्थे भने आज कसरी विप्लव कृषि क्रान्तिका नायक भए ?
के जुम्लामा हजारौँ विरुवा स्याउ रोपेर त्यो क्रान्ति सफल हुन्छ ? यदि सफल मानिन्छ भने लाखौँ किसान र करोडौँ स्याउका विरुवालाई विप्लवकै नाममा पार्टीकरण गरिदिए हुन्छ ? होइन भने क्रान्तिका नाममा पुँजीवाद दलालको रिहर्सल गर्नुको साटो कर्णालीका लाखौँ किसानको पीर मर्का, समस्या र दुःख बुझ्ने कोसिस गर्नुपर्छ ।
कर्णालीका किसानले वर्षदिनभर दुःख गरेर स्याउ रोप्छन् । उत्पादन गर्छन् । तर बजार नपाएर सस्तोमा बेच्छन् । वर्षामा कर्णाली राजमार्ग बन्द भएर स्याउ बोटमै कुहिन्छ । कति त बीच बाटोमा रोकिएका ट्रकमै कुहिन्छ । तर त्यहाँ विप्लवको आवाज हराउँछ । अनि अहिले स्याउ रोप्ने नाममा सस्तो प्रचारबाजी र दलाल पुँजीवादको रिहर्सल गर्न जुम्ला, कालिकोट र कर्णाली चाहिने !
हेक्का रहोस, विप्लवलाई नेता हुन मन छ भने पहिले जनताको सेवा गर्न सिक्नुपर्छ । उनीहरुको सुख, दुःखलाई आत्मसात गरेर त्यसको समाधानमा सहयोगी बन्नुपर्छ । माओवादीको आधारकिल्ला मानिने कर्णालीमा व्यवस्था बदलिएजसरी अवस्था बदल्न पनि नेताहरुले गाउँ गाउँमा श्रमदान र सेवा अभियान चलाउनुपर्छ । न कि आज व्यवसाय, अभियान वा कृषि क्रान्तिका नाममा दलाल पुँजीवादको भित्री लोभ पालेर बाहिर देखावटी कम्युनिष्ट सिद्धान्त र शैली काम त छैन् नै । त्यसको नक्कल पनि भोलिका दिनमा घातक हुन सक्छ ।