सुर्खेत : सुर्खेतकी दृष्टिविहीन शिक्षिका सोमना खड्का अनलाइनखबरको ५० प्रभावशाली महिला सूचिमा परेकी छन् । नेपालकै नम्बर १ न्युज पोर्टल अनलाइनखबर डटकमले अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भ पारेर देशभरका उत्कृष्ट, संघर्षशील, प्रेरणादायी, सफल र प्रभावशाली ५० महिलाहरुको सूचि सार्वजनिक गरेको हो ।
गएको वर्षदेखि ५० प्रभावशाली महिलाहरुको सूचि सार्वजनिक गर्न थालेको अनलाइनखबरले यस वर्ष पनि त्यसलाई निरन्तरता दिएको हो । यस वर्षको सूचिमा सुर्खेतकी दृष्टिविहीन शिक्षिका सोमना खड्काको संघर्ष, सफलता र प्रेरणादायी कथा अनलाइनखबरले प्रकाशित गरेको हो ।
दैलेखमा जन्मिएकी सोमनाले सुर्खेतको रामघाटबाट संघर्ष थालेकी हुन् । आमा, दिदी, मामा, हजुरबुवा लगायतको प्रेरणाले पढ्नका लागि स्कुल गएकी सोमनाले बाल्यकालदेखि नै संघर्षका ठूला ठूला पहाड चढ्दै, झर्दै, लड्दै नेपालगञ्जको मंगल माविबाट उच्च शिक्षासम्मको यात्रा गर्न सफल भएकी हुन् । मंगल माविबाट उनले त्यतिबेलाको कक्षा १० अर्थात एसएलसी उत्तीर्ण गरेर सुर्खेत शिक्षा क्याम्पसबाट स्नातक र स्नातकोत्तर गर्न सफल भएकी हुन् ।
नेपालगञ्जमा विद्यालयको होस्टेल बसेर पढ्दा नै दृष्टिविहीन हुँदा कठोर संघर्ष गरेकी सोमनाले २०६५ सालबाट सुर्खेतमा संस्थागत संघर्ष सुरु गरिन् । सुरुमा नेत्रहीन संघ, सुर्खेतबाट आबद्ध भएर दृष्टिविहीनका लागि बोल्न र आवाज उठाउन थालेकी उनले केही समय मानव बेचविखनविरुद्धको अभियानमा पनि संलग्न भएर काम गर्न थालिन् । दृष्टिविहिनका लागि सहारा र अभियान्ता बनेर सडकमा होमिएकी उनले सञ्चार र प्रशासनिक क्षेत्रमा पनि आवाज उठाउन थालिन् ।
जसकारण उनको आवाजको दायरा फराकिलो बन्यो भने आफ्नो सफलता र दृष्टिविहीनका लागि सहयोगी अभियान प्रभावकारी भयो । जसकारण उनले कर्णालीको समाजका अनेकौ रुढिवादी परम्परागत सोच भत्काउँदै जान थालिन भने सामाजिक रुपमा परिचित र संघर्षशील सफल नारीका रुपमा स्थापित भइन् ।
सुर्खेत र नेपालगञ्जमा विद्यालय शिक्षा पढ्दा अन्यायविरुद्ध आवाज उठाउने बेला धेरैपटक होस्टेल, कोठाबाट निकालिएकी उनी आज धेरै मानिसहरुको नजरमा सफल र प्रेरणादायी महिला हुन् । अन्यायको विरुद्ध आवाज उठाउँदा धेरैपटक अन्याय खेपेकी उनी आज शिक्षाको ज्योति छर्ने विद्यालयमा शिक्षिका छिन् । नेपाल राष्ट्रिय मावि भेरीगंगा सुर्खेतमा प्रावि तहको शिक्षिका भएर ज्ञानको ज्योति छरिरहेकी सोमना अहिले अनलाइनखबरको ५० प्रभावशाली महिला सूचिमा पर्न सफल हुँदा अरुको बधाई खाइरहेकी छिन् ।
अनलाइनखबरको ५० प्रभावशाली महिला सूचिमा परेकी सोमनाबारे यज्ञ खत्रीले लेखेको स्टोरी
दृष्टि विनाको जीवन कस्तो हुन्छ ? अन्धकार, शून्य, बोझिलो, अत्यास लाग्दो ! तर सोमना खड्का (३३) लाई देख्दा लाग्छ, अँध्यारोभित्र पनि उज्यालो हुन्छ । आँखाले संसारको झिलीमिली देख्न नपाए पनि आफ्नो कर्मले जीवनलाई प्रकाश दिन सकिन्छ । दृष्टिविहीनका आँखामा ज्योति छर्न सकिन्छ ।
सोमना आफू आँखा देख्दिनन्, तर अरूलाई आँखा देखाउँछिन् । बाहिरी दृष्टिबाट वञ्चित उनी भित्री दृष्टिमा अब्बल र तीक्ष्ण छिन् । जुनसुकै कुरा छिटो सम्झने र लामो समयसम्म नबिर्सने खुबी उनमा छ । यही खुबीका कारण त विद्यालयले भर्ना लिन नमान्दा पनि स्नातकोत्तर गरिन् ।
दृष्टिविहीन भएकै कारण जे नगर भनियो, उनले त्यही गरिन् । छात्रावासमा हुने हिंसाका विरुद्ध उत्रिंदा आफैं निकालिइन् । तर, हार मानिनन्, बरु उनको जिद्दीपनका अगाडि अरूले हार माने ।
सदियौंदेखिको लैङ्गिक र सामाजिक विभेद विरुद्ध बोल्न कहाँ सजिलो थियो र ? तर सोमनाले बोल्ने मात्रै होइन, अभियान नै चलाइन् । परिवार र समाजसँग लडिन् । आफ्ना लागि लडिन् अनि आफू जस्तै दृष्टिविहीनका लागि लडिन् । सुर्खेतको भेरीगंगास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रावि तहकी शिक्षक सोमना दृष्टिविहीनका लागि मात्रै होइन समाजका लागि उदाहरणीय बनेकी छिन् ।
छुट्टै छात्रावास स्थापना
आफूले भोगेको हिंसा सोमनाले बिर्सेकी थिइनन् । अरूले हिंसा भोग्न नपरोस् भनेर उनले दृष्टिविहीन र बौद्धिक अपाङ्गता भएका बालिकाहरूका लागि छुट्टै छात्रावास स्थापना गरिन् । २०७२ सालमा शिखर मावि रामघाटको छात्रावासबाट बालिकालाई अलग गरेर छुट्टै राखिन् ।
‘म नेपालगञ्ज छात्रावासमा बस्दा कर्मचारीदेखि शिक्षकसम्मले हिंसा गर्थे, त्यसले गर्दा दृष्टिविहीन महिलाका लागि छुट्टै छात्रावास हुनुपर्छ भनेर आवाज उठाएँ । अहिले छात्र र छात्रा छुट्टाछुट्टै राख्ने व्यवस्था गरिएको छ’, उनले भनिन् ।
समावेशी शिक्षाको अवधारणाले बालबालिकालाई परिवार वा साथीभाइसँग नछुट्याई शिक्षा दिनुपर्ने मान्यता राख्ने हुँदा अब भने त्यो छात्रावासलाई संयुक्त बनाउने सोच उनले बनाएकी छन् । अब राज्यले समावेशी शिक्षाको अवधारणा अनुसार अपाङ्गता भएका बालबालिकालाई पनि शिक्षा दिनुपर्ने उनको बुझाइ छ ।
‘अभिभावक र बचपनका साथीभाइबाट अलग नगराई पढाउनुपर्छ । त्यसअनुसार संरचना बनाउनु आवश्यक छ’ सोमना भन्छिन्, ‘छात्रावासमै राखेर पढाउने हो भने पनि सुरक्षित हुनुपर्छ ।’ संसार नदेखेर पनि ज्ञानको भण्डार छिचोलेका दृष्टिविहीनहरूप्रति राज्य भने मौन रहेको उनको बुझाइ छ ।
‘नेताहरू चुपचाप छन् । अधिकारवादीहरू मुख थुनेर बसेका छन् । नीतिनिर्माता कानमा तेल हालिरहेका छन्’ सोमना भन्छिन्, ‘हामी हाम्रा लागि लडिरहेका छौं । आवाज उठाइरहेका छौं । तर, सुनिदिने कसले ?’ राज्यले बनाएका अपाङ्गता सम्बन्धी कानुनहरू व्यावहारिक नभएको उनको बुझाइ छ ।
कहालीलाग्दो बाल्यकाल
सोमना बुझ्ने भएर आँखा खोल्दा चारैतिर मधुरो थियो । सोच्थिन्, ‘यो संसार नै यस्तै मधुरो छ । धुमिल छ ।’ जब हुर्किंदै गइन्, उठ्न खोज्दा लडिन् । हिंड्न खोज्दा ठोक्किइन् । कुनै काम गर्दा कसैको सहारा चाहिने । केही पनि ठम्याउन नसक्ने । ‘४–५ वर्षको भएपछि थाहा पाएँ, म अरूभन्दा फरक रहेछु’ उनले मेसो पाइन्, ‘संसार त उज्यालो रहेछ । मेरो आँखाको ज्योति पो गुमेछ ।’
१५ वैशाख २०४७ मा दैलेख कट्टीका वेदबहादुर खड्का र कली खड्काकी छोरीको रूपमा सोमनाको जन्म भयो । जन्मिएको दुई वर्ष हुँदै थियो, गाउँमा आँखा पाक्ने महामारी फैलियो । उनलाई पनि यो रोगले भेट्यो । उपचार गराउन नजिक अस्पताल थिएन । परिवारले धामी–झाँक्रीलाई देखाए । तर सञ्चो भएन । अन्ततः आँखाको ज्योति सदाका लागि गुम्यो ।
सोमनाका दुई आमाबाट ८ भाइबहिनी छन् । उनीपट्टि चार दिदीबहिनी मात्रै । छोराको आशमा बुवाले अर्को बिहे गरे । सानीआमाबाट भाइ जन्मिएपछि बुवाले विस्तारै परिवारको साथ छाड्दै गए । सहारा आमा मात्रै थिइन् । आमाले नै पालनपोषण गरिन् । दिदीबहिनी स्कूल जान्थे, गाउँघरमा हुने भोज–भतेरमा पुग्थे । सोमना भने घरमै टोलाएर बस्थिन् ।
‘एकदिन अरू बालबच्चाको आवाज पछ्याउँदै लड्दैपड्दै विद्यालय पुगें’ उनले बालापन सम्झिइन्, ‘एक दिन, दुई दिन गर्दै यसरी महिना दिन स्कूल गएपछि मलाई सरले एउटा किताब दिनुभयो ।’ सोमनाको पढ्ने रहर देखेकी फुपूकी छोरी सुर्खेतको रामघाट बस्थिन् । फुपूकी छोरीले एकदिन दृष्टिविहीनहरूलाई पढाउने स्कूल छ भन्ने खबर घरमा पठाइन् ।
‘बुवा त आँखा नदेख्नेलाई किन पढाउनुपर्यो भन्दै झर्किनुभयो । तर आमा सकारात्मक हुनुभयो’ उनले भनिन्, ‘आमाले कर गरेपछि बुवाले रामघाटमा रहेको फुपूको घरमा लगेर छोडिदिनुभयो ।’ ७ वर्षकी सोमना २०५५ सालमा रामघाट झरिन् ।
रामघाटमा ६ महिना मात्रै पढ्न पाइन् । त्यहाँको स्रोत कक्षा नै बन्द भयो । उनी गाउँमै फर्किनुपर्यो । गाउँमा हजुरबुवा नाता पर्ने एक जना शिक्षकले ब्रेललिपि अक्षर चिन्न सक्ने सामान्य तालिम लिएका थिए । उनै शिक्षकले सोमनालाई आफूले पढाउने विद्यालयमा भर्ना गर्न लगाए । त्यहाँ एक कक्षामा भर्ना भइन् । दैलेखमा उनले चार कक्षासम्म पढिन् ।
त्यसबीचमा रामघाटको स्रोत कक्षा पुनः सञ्चालनमा आयो । गाउँमा चार कक्षा पास गरिसकेपछि सोमना रामघाट फर्किइन् । त्यहाँको शिखर माविमा कक्षा ५ मा भर्ना भइन् । उनको पढाइ अपाङ्गता भएका अरू विद्यार्थीको भन्दा राम्रो थियो ।
त्यसको मूल्यांकन गर्दै शिक्षकहरूले सोमनालाई नेपालगञ्जको एउटा विद्यालयमा सिफारिश गरिदिए । ‘शिक्षकहरूले नै मलाई छात्रवृत्तिमा छनोट गरेर नेपालगञ्जको मंगल माध्यमिक विद्यालयमा सिफारिश गरिदिनुभयो’, उनले भनिन् ।
होस्टल र कोठाबाट निकालिइन्
नेपालगञ्ज गएपछि सोमनाले अर्को संघर्ष गर्नुपर्यो । नेपालगञ्जस्थित मंगलप्रसाद माध्यमिक विद्यालयको होस्टलले उनलाई राख्न मानेन । होस्टल सुविधा सहित विद्यालयमा भर्ना नपाउने भएपछि उनी जिल्ला शिक्षा अधिकारीकहाँ पुगिन् । जिल्ला शिक्षा अधिकारीले अर्को विद्यालयमा फेरि पाँच कक्षामै भर्ना गर्न सकिने बताए ।
तर, आफूलाई कक्षा ६ मा त्यो पनि आफूले भनेकै विद्यालयमा पढ्न नदिए कार्यालयकै ढोकामा मरिदिन्छु भनिन् । शिक्षा कार्यालयको दबाबमा मंगलप्रसाद माध्यमिक विद्यालयमा भर्ना भइन् । होस्टल बस्न थालेपछि उनीमाथि अनेक किसिमका हिंसा हुन थाले ।
को व्यक्ति होस्टलमा आयो÷गयो, सोेमनालाई थाहा हुँदैनथ्यो । उनलाई लाग्थ्यो– मानिसहरू बोल्दा किन हामीलाई छोएर बोल्छन् ? के छेउमै आउनुपर्छ र ? के अँगालो नै हाल्नुपर्छ ? उनी भन्छिन्, ‘होस्टलका इन्चार्ज र कर्मचारीहरू हाम्रा गाला चिमोट्ने, संवेदनशील अंगमा छुने जस्ता हर्कत गर्थे ।’
उनले भनिन्, ‘प्रतिवाद गर्दा यहाँ पढ्न मन छैन ? भनेर धम्क्याउँथे । बोल्यो भने निकालिदिन्छौं भन्थे । मानसिक यातना दिन्थे । तर म चुप लागिनँ । हिंसाको खुलेर विरोध गरें । पत्रकार सम्मेलन गर्ने चेतावनी दिएँ । त्यसपछि त मलाई त्यहाँ बस्ने वातावरण नै भएन ।’
अनेक लाञ्छना लगाएर उनलाई होस्टलबाट निकालियो । त्यसपछि कहिले साथीकोमा त कहिले चिनजानका आफन्तकहाँ बसेर पढ्न थालिन् । ‘नेपालगञ्ज बसेर पढ्दा मैले धेरै दुःख पाएँ । झन्डै दुई वर्ष त एक छाक मात्रै खाएँ । भोक बिर्सिसकेकी थिएँ’, दुःखका दिन स्मरण गर्छिन् उनी ।
२०६४ सालमा एसएलसी उत्तीर्ण गरेकी सोमनाले सुर्खेत फर्किने निर्णय गरेकी थिइन् । त्यतिबेलासम्म विद्यालय र होस्टलकै प्रशासन फेरिएको थियो । नयाँ व्यवस्थापनले सोमनालाई त्यहीं पढ्न आग्रह गरेको थियो । छात्रवृत्तिको व्यवस्था गरिदिन्छौं पनि भनेको थियो । तर मानिनन् ।
‘सहयोग चाहिएको बेला पाइनँ, किन बस्नु जस्तो लाग्यो । अब आफैं केही गरेर पढ्न सक्छु भन्ने आत्मविश्वास पलाएको थियो । प्रमाणपत्र मागें अनि सुर्खेत फर्किएँ’, उनले सुनाइन् ।
सोमनाले वीरेन्द्रनगरस्थित सुर्खेत क्याम्पसबाट शिक्षा संकायमा प्लस टु पास गरिन् । तर त्यहाँ पनि उनका दुःख सकिएनन् । श्रीमान् कमाउन भारत गएका थिए । उनी एक छोरी सहित कोठामा बस्थिन् । आँखा नदेखेकै कारण घरबेटीले कोठाबाट निकालिदियो । उनले भनिन्, ‘डेढ वर्षकी नानी लिएर सडकमा आउनुपर्दा मेरो के अवस्था भयो होला ?’
कोठाबाट निकालिएपछि सोमनालाई वीरेन्द्रनगरका समाजसेवी जीवनकुमार शाक्यले आश्रय दिए । आफैंले सञ्चालन गरेको होस्टलमा जागिर दिए । केही समयपछि उनलाई रामघाटस्थित अपाङ्गता भएका विद्यार्थी बस्ने छात्रावासले बोलाएर बच्चाको हेरचाह गर्ने जिम्मा दियो । त्यसबापत बस्ने र खाने सुविधा पाउँथिन् । पछि केही समयका लागि छात्रावासमा बच्चा पढाउने अवसर पनि पाइन् ।
सोमनालाई श्रीमान्ले शुरुबाटै पढ्ने हौसला दिएका थिए । आफूले उच्च शिक्षा हासिल गर्नुको श्रेय श्रीमान्लाई दिन्छिन् सोमना । पढाइलाई निरन्तरता दिइन् । शिक्षा क्याम्पसबाटै स्नातक गरिन् । शिक्षा संकायमा स्नातकोत्तर पनि त्यही क्याम्पसबाट गरिन् । ‘शिक्षा क्याम्पसले मलाई प्लस टुदेखि नै पूर्ण छात्रवृत्तिमा पढायो’ उनले भनिन्, ‘अन्य खर्च श्रीमान्ले मजदुरी गरेर भए पनि जुटाउनुभयो ।’
पढाइको खुड्किलो चढ्दै जाँदा उनको अँध्यारो जीवनमा उज्याला किरणहरू क्रमशः देखा पर्न थाले । शिक्षाको ज्योतिले ज्ञानको भण्डार थपिंदै गयो । पढेर मात्र नहुने । दृष्टिविहीनले रोजगारी पाउन गाह्रो थियो ।
यही बीचमा उनले भेरीगंगास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा प्रावि तहको दृष्टिविहीन शिक्षक दरबन्दी रहेको थाहा पाइन् । ‘त्यो दरबन्दीमा सबलांग व्यक्तिलाई जागिर खुवाइएको रहेछ । लडाइँ गरेर त्यहाँ शिक्षकको नियुक्ति पाएँ’, उनले सुनाइन् ।
सोमनाले अध्यापन थालेको चार वर्ष पुग्यो । शिक्षाको ज्योति बाँड्दै सत्मार्गको बाटो देखाइरहेकी छिन् । उनी भन्छिन्, ‘दृष्टिविहीन भएर होइन, अज्ञानताले संसार अँध्यारो हुँदोरहेछ । शिक्षा आर्जन गरेपछि जीवनको बाटो आफैं उज्यालो हुँदै जाँदो रहेछ ।’
विवाहपछिको जीवन
एसएलसीलगत्तै कोहलपुरका रमेश रानाले सोमनालाई बिहेको प्रस्ताव गरे । जो, उनलाई हरेक काममा सहयोग गर्थे । ‘समाजका हरेक हेपाहा व्यवहारले चुनौती थपिरहेको थियो । मसँग बिहे गर्नुको विकल्प पनि थिएन’, उनी भन्छिन् ।
उनीहरूसँग पैसा थिएन । मञ्जु रसाइली भन्ने साथीको घर गएर कुरा गरें । ‘आमाले बिहे गर्छौ भने लौ यहीं सिन्दूर हाल भन्नुभयो । सिन्दूर हालियो, विवाह भयो’ सोमनाले सुनाइन्, ‘साथीको घर नै माइतीको आँगन बन्यो ।’ १७ वर्ष उमेरकी सोमना त्यहाँबाट सीधै विवाह दर्ता गर्न गाविस कार्यालय गइन् । तर बालविवाहको कानुन लाग्ने भएपछि विवाह दर्ता हुन सकेन ।
श्रीमान् जनमुक्ति सेनाको शिविरमा थिए । यता सोमनाको छोरी जन्मिइन् । छोरीको हेरचाह गर्न उनलाई झनै सकस हुन्थ्यो । ‘सबैभन्दा तनाव त बच्चा दृष्टिविहीन छ कि भन्ने कुराले भयो । खोप लगाउन जाँदा प्रत्येक पटक म डाक्टरलाई सोध्थें । तपाईं जस्तो छैन भन्दा पनि विश्वास लाग्दैनथ्यो’, उनी भन्छिन् ।
अहिले बाँकेको वैजनाथ गाउँपालिकामा उनको माटोको घर छ । सोमना राहत दरबन्दीमा शिक्षक छिन् भने श्रीमान् नेपाल आयल निगममा जागिरे छन् ।
‘नीरस जीवन बाँचेकाहरूले मलाई हेर्नू’
नेपालगञ्जको मंगलप्रसाद माविमा पढ्दा दृष्टिविहीन बाल क्लबको उपाध्यक्ष रहेकी सोमना सुर्खेतमा आएपछि भने नेत्रहीन संघ सुर्खेतको सदस्य भइन् । सोही संस्था मार्फत विस्तारै उनी सार्वजनिक कार्यक्रममा जान थालिन् । अरूका कुरा सुनिन् । दृष्टिविहीनका समस्या अरूलाई सुनाउन थालिन् ।
उनी सुर्खेत नेत्रहीन संघको सचिव हुँदै हाल नेत्रहीन संघ कर्णाली प्रदेशको सचिव छिन् । शिक्षण पेशाका अलावा सोमनाले १३ वर्ष जति आफू जस्तै बालिकाका लागि परामर्शदाता भएर काम गरिन् । विभिन्न संस्थासँग जोडिएर हिंसा र प्रतिकारका बारेमा परामर्श दिएको उनी बताउँछिन् ।
सोमनाले मानव बेचबिखन विरुद्धको समूह सुर्खेतको पूर्वसंयोजक भएर पनि काम गरिन् । ‘आफू हिंसामा हुँदाहुँदै पनि अरूको न्यायको लागि बोल्नुपर्छ भन्ने मेरो मान्यता छ’, उनी भन्छिन् ।
हिजो दैलेख, रामघाट, नेपालगञ्ज र सुर्खेत बसेर गरेका संघर्ष र गर्दै गरेका दिनका दुःख बिर्सिनस्कनुका छन् । उनी धेरै पटक रोइन् । तर हिजो दबाउन खोज्नेहरू आज उनलाई घरमा खाना खान बोलाउँछन् । पहिले जसले कुरा काट्थे, अहिले उनीहरू नै ‘तेरो छोरीले नाम कमाएकी छ’ भनेर आमालाई सुनाउँछन् ।
‘जीवनदेखि निराश भएर बाँच्न मन नलाग्नेहरूले मलाई हेरुन् । भोगाइले नै परिपक्व बनाउँछ । हरेकको जीवनमा संघर्ष छ । ‘मसँग त यत्रो आँट छ, भने आँखा देख्नेहरूले चाहे नसक्ने के छ र ? शारीरिक भन्दा मनको कमजोर मान्छेले जीवनको यात्रा छोट्याउने हो’, उनी सबैलाई हौसला दिन्छिन् ।
#सोमनाखड्का #कर्णाली #शिक्षा