जुम्ला : हिउँदमा शरीर नै कपाउने जाडो । गर्मीमा तप तप तात्तिएर कक्षा कोठाभित्रै बस्न सकस । जुम्लाको सिँजा गाउँपालिका–६ स्थित जोडु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि कक्षा कोठामा बसेर अध्ययन गर्न मुस्किल छ ।
अझ बर्खामा पानी पर्दा टिन बजेर आउने आवाजले कक्षा कोठामा शिक्षकको आवाज सुन्नै नसिकने । भवन अभावका कारण टिनको टहरामा पढ्न बाध्य छन् यहाँका विद्यार्थी ।
हिउँदका दुई महिना बिदा हुन्छ । माघपछि विद्यालय खुलिसकेका छन् । तर यतिबेला पनि जुम्लामा बरफ जम्ने चिसो हुन्छ । कक्षा कोठाभित्र एकदम चिसो हुने भएका कारण विद्यार्थी खुला चौरमा बसेर पढ्छन् ।
हावा हुरी लागेको बेला त जस्तापाता नै उडाइदिन्छ कि भन्ने जोखिम त छँदैछ । कक्षा ४ देखि ९ सम्मका विद्यार्थीहरु टहरामुनि नै पढ्न बाध्य छन् । ‘सबै कक्षाका विद्यार्थीलाई बाहिर राखेर पढाउँदा हल्लाले प्रभावित हुन्छ । भित्र शरीर कपाउने चिसो छ,’ विद्यालयका शिक्षक तुलाराम बुढा भन्छन्, ‘बर्खामा पनि समस्या उस्तै छ । घाम लाग्दा टिन तातिएर भित्र बस्नै सकिँदैन । बाहिर हावाहुरी र पानीले समस्या गर्छ ।’
उनका अनुसार अहिले कक्षा ४ मा २४, कक्षा ५ मा २४, कक्षा ६ मा १५, कक्षा ७ मा १५, कक्षा ८ मा ३१ र कक्षा ९ मा १३ जना विद्यार्थी छन् । कक्षा १ देखि ३ सम्म र कक्षा १० का विद्यार्थीका लागि पक्की भवनको प्रयोग गरिएको छ ।
भवन नभएकाले बाध्य भएर टहरामा पढाउनुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दलबहादुर बुढाले बताए । ‘टहराले झनै समस्या देखिएको छ । काम चलाउ प्रकृतिको पढाइ गर्न पनि सकिएको छैन,’ उनले भने, ‘सरकार डोजर लगाउनुमै विकास देख्छ, शिक्षा सबल र प्रभावकारी बनाउन चाहँदैन ।’
कक्षा ८ मा अध्ययनरत फूलमाया बुढा टहरामा ६ वटा कक्षा चलाउँदा प्रभावकारी सिकाई हुन नसकेको बताउँछिन् । उनले भनिन्, ‘एक कक्षामा पढाइरहदा अर्कोमा त्यसको आवाजले डिस्टर्ब हुन्छ ।’ विद्यालयको तथ्यांक अनुसार ३ सय विद्यार्थी अध्ययनरत छन् ।
सिँजा ६ का वडाध्यक्ष लालबहादुर बुढा भवन निर्माणको लागि २० लाख रुपैयाँ विनियोजन भइसकेको बताउँछन् । उनका अनुसार चालू आर्थिक वर्षमै भवन बनेर टहराको सकसपूर्ण पढाइ रोकिने उनको दाबी छ ।
विद्यालयमा खानेपानी र शौचालयको अवस्था राम्रो छ । तर घेरबार नहुँदा पशुवस्तुहरु विद्यालयमा छिर्छन् । २०७९ असोज महिनामा परेको वर्षाले विद्यालय भवन बगाएर लगेपछि विद्यालयलाई नयाँ स्थानमा सारीएको थियो । अहिले पर्याप्त संरचनाहरु नबन्दा विद्यार्थी टीनको तहरामै पढ्न बाध्य छन् । तत्काल पक्की भवन निर्माणका लागि आवश्यक रकम व्यवस्थापन गर्न सरकारसँग अभिभावकले आग्रह गरेका छन् । स्रोत : कान्तिपुर