१२४ वर्ष अगाडि आजकै दिन अर्थात बि.सं. १९५७ फागुन २३ गते (सन १९०१ मार्च ५) मंगलवारका दिन एकाबिहानै टुँडिखेलमा अचानक बजेको बिगुलले काठमाडौवासी हताससंग उठेका थिए । राती नै देहावसान भएका श्री ३ वीरशम्शेरको शवयात्राको तैयारी भइरहेको थियो ।
बिहानै कमाण्डिङ अफिसर देवशम्शेर आफ्ना दाजु श्री ३ वीर शम्शेरको निवास लालदरवारमा दाजु प्रति अन्तिम श्रद्धाञ्जली दिन पुगेका थिए । त्यहाँबाट आफ्नो थापाथली दरवारमा फर्किए । यसको लगत्तै तैयारीका साथ नारायणहिटी दरवार तर्फ लागे ।
नारायणहिटीमा राजा पृथ्वी वीर बिक्रमलाई सुनको असर्फी चढाएर दर्शन गरे । राजाबाट देव शम्शेरलाई प्रधानमन्त्री, कमाण्डर इन चिफ तथा कास्की र लमजुङको राजाको पदवी दिइएको लालमोहर दिए । यस पछि श्री ३ देव शम्शेर सैनिक दस्ताका साथ टुँडिखेलमा पुगे । त्यहाँ सेनाबाट नयाँ श्री ३ लाई सलामी दिइयो । टुँडिखेल वरपर बसिरहेका सर्वसाधारणहरुको चर्को स्वर गुञ्जियो, श्री ३ देव की जय, श्री ३ देव की जय । त्यो रात थापाथली दरवार झिलिमिल पारिएको थियो । तर बधाइ दिन आउनेहरुको पनि ताँति लागेको थियो ।
३९ वर्षको उमेरमा श्री ३ बनेका देव शम्शेरका लागि भने श्री ३ को पद लामो रहन सकेन । आफ्नो समयकालमा निकै जनअपेक्षाको कार्य गरेका देव शम्शेर आफ्नै भाइ चन्द्र शम्शेरका लागि भने नालायक बने । दासप्रथा उन्मुलनका लागि उनले कदम चालेका थिए । जुन उनका भाइ श्री ३ चन्द्र शम्शेरको समयमा सफल भयो । उनकै समयमा गोरखापत्र छापिन थाल्यो भने देशैभर ५७ वटा संस्कृत पाठशालाहरु पनि खुले ।
भाइ चन्द्र शम्शेरको षडयन्त्रको भनक पाए पनि खासै महत्व नदिएका देव शम्शेर श्री ३ बनेको चार महिना पनि नपुग्दै पदच्युत भए । १९५८ असार १३ गते दरवार हाइस्कूलमा पुरस्कार वितरणका लागि पुगेका देव शम्शेरलाई वीरशम्शेरका छोराहरु बिच अंश सम्वन्धी विवाद भएको हुँदा सुलह गरिदिन भन्दै सेतो दरवार लगिएका उनलाई भाइहरुले बन्दुक ताकेर पटुकाले बाँधेर आत्मसमर्पण गर्न लगाए । कन्चटमा पेस्तोल राखेर श्री ३ तथा प्रधानमन्त्रीको पदबाट राजीनामा दिन लगाइयो ।
राजीनामा दिनासाथ श्री ३ तथा प्रधानमन्त्रीको पदभार चन्द्र शम्शेरले लिए । त्यही राती देवशम्शेरलाई निर्वासन गराइयो । राजधानीमा रहेको सम्पूर्ण सम्पतिको हकदार उनका भाइहरु भए । उनलाई म्यानामा राखेर कडा सुरक्षाका साथ धुलिखेलको बाटो धनकुटा पठाइयो । सातौ दिन धनकुटा पुगेका उनि लामो समय त्यहाँ बसेनन् । भारतमा रहेको अंग्रेज सरकारलाई शरणका लागि अनुरोध गरे पछि दिल्लीमा रहने ब्यबस्था गराइ दिए पनि उनले मसुरीमा बस्न रुचाए ।
काठमाडौमा उनको निर्वासनमा दुख मनाउने खासै कोही भएन । तर दरवारमा रहेकी एक नर्टकी गुल बफा भने साह्रै दुखित बनिन् । उनले महाराज देव शम्शेरले काठमाडौ छोडे देखि केही खाइनन् । अन्तत १७औ दिनमा उनको निधन भयो । देव शम्शेरको बाकी जीवन फेयरलाँन प्यालेस, मसुरीमा नै रह्यो । त्यही उनको वि.सं १९७० माघ ७ मा देहावसान भएको थियो ।