- काजल न्यौपाने
दैलेख ।
२०८१ साल, फागुन महिना,
जुराइ दिए भगवानले, भेट हुनका लागि नै।
नौमुलबाट यात्रा गर्यौं, कोटिलातिर झर्यौं,
स्नान गरी शुद्ध भइ, पितृलाई पिण्ड अर्प्यौं।
फेरि लाग्यौं उहीँ बाटो, ओरालो डुङ्गेश्वरको,
कर्णालीको छाल हेर्ने रहरले, उकालो बिर्सियौं।
कलकल बग्ने कति सुन्दर, कर्णालीको धार,
जुराएको भेट, जुरायौ यही, एकासी साल।
त्यहाँ पनि गर्यौं हामीले, पिण्डदान विधिपूर्वक,
तर हेर्न छुट्यो ज्वाला, अधुरै रह्यो अनुरोध।
अझ घुम्नुपर्ने, रमाउने ठाउँहरू थुप्रै थिए,
नाभिस्थान, कोटेश्वर, ती पनि हेर्न बाँकी रहे।
कति घुमौं, रात पर्न थाल्यो, घडीले नौ बजायो,
भोको पेट, गाडीको यात्रा, अब त धौधौ भयो।
बास खोज्दै भैरवी पुग्यौं, त्यहीं भेटियो आश्रय,
सुत्न पाए पुग्थ्यो हामीलाई, थिएन अरू अभिलाषा।
भगवान नै भेटिए झैँ लाग्यो, घरभेटी आमा महान्,
तनले भरिपूर्ण, मनले उदार, बत्तिस गुणका खानी।
बिर्सिनै नसकिने बनायो, त्यो रात अमूल्य,
सबैलाई तताउने अमृतसरि, गुन्द्रुकको झोल अनमोल।
देउडा गाउँदै, भजन गुञ्जाउँदै, रात बिताइयो,
थाकेका थिए, खाना खाई, निद्रामा मस्त भयौं।
बाह्र घण्टाको यात्रा पछाडि, फेरि यात्रा सुरु भयो,
उज्यालो हुँदै गाडीका चालकले कराउँदै उठाए।
फेरि लाग्यौं तीर्थयात्रामा, बिहानको शीतलता साथ,
कोही भन्दै थिए, "सुत्न नदिई बल्ल उज्यालो भएछ!"
गयौं स्नान गर्न, भीरैभीरको भैरवीको मूल,
यस्ता पवित्र दिनहरू, आउँछन् या आउँदैनन्, नबिर्सौं!
परापूर्व कालमा, पानी होइन दूध बग्थ्यो रे!
बुढापाकाहरूको कुरा सुन्दै, श्रद्धाले भरियौं।
दर्शन गर्यौं भैरवी माताको, फेरि बाटो समात्यौं,
पारी हेर्दा चामुण्डा, नजिकै प्रकट भईन्।
नाभिस्थान पुग्यौं, हे-यौं जलमा बल्ने ज्वाला,
वरिपरि मन्दिरै मन्दिर, समीबृक्षमा गणेशको थाला।
त्यसपछि श्रीस्थान आयौं, भोक-प्यास सबै भुल्यौं,
भगवानको सान्निध्यमा, मन शुद्धि अनुभव गर्यौं।
श्रीस्थानको किनारैमा बसिरहेका थियौं,
अचानक देख्यौं, बाँसको डोला बोकी शव आयो।
पिण्ड बगाएर टाढैबाट, दर्शन गर्यौं हामीले,
यादहरू बन्दै थिए, गहिरा र गम्भीर।
फेरि कोटिलामा फर्कियौं, मन्दिरभित्र पूजा गर्यौं,
आरती गुञ्जायमान भयो, धूप दीपले मन निथ्रियो।
भगवान नै सारथि हुन्, तन-मनका पालक,
शिवशंकर, श्रीहरिको नाम जप्दै, भजनमा हरायौं।
ॐ नमः शिवाय! ॐ नमः वासुदेवाय!
तीर्थयात्रा गर्यौं हामीले, सत्य हृदयभरि,
पवित्र भूमि दैलेखमा, स्वर्गकै अनुभूति गर्यौं।
तीर्थ यात्रा गर्दै जाँदा, शान्तिको सन्देश लेख्यौं।