सल्यान । विश्व उपभोक्ता अधिकार दिवसको अवसरमा सल्यानमा सरोकारवालाबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको आयोजनामा शनिबार जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा “स्वच्छ र प्रतिस्पर्धी बजार, उपभोक्ता संरक्षणको दिगो आधार” भन्ने नारासहित कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष विरेन्द्र श्रेष्ठले व्यापारीहरूका लागि घुम्ती शिविर सञ्चालन गरी व्यापार व्यवसाय दर्ता तथा नवीकरण प्रक्रिया सहज बनाइएको बताए। उनले व्यवसायीहरूलाई आवश्यक परामर्श सेवा पनि उपलब्ध गराइएको जानकारी दिए।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानका प्रमुख श्यामलाल खरालले बजार अनुगमनलाई प्राथमिकता दिँदै आएको जानकारी दिए। उनले यस आर्थिक वर्षको फागुनसम्म ९ पटक बजार अनुगमन गरी एक सय एक वटा व्यापारिक प्रतिष्ठानको अनुगमन गरिएको बताए। अनुगमनका क्रममा म्याद नाघेका ४६ हजार ८१६ रुपैयाँ बराबरका सामग्री बरामद गरिएको पनि उनले जानकारी दिए।
खरालले पेट्रोलियम पदार्थको अभाव हटाउन गरिएको पहल सफल भएको बताउँदै जिल्लाका सबै पालिकामा नागरिकलाई उद्यमशील बनाउने उद्देश्यले विभिन्न सीपमूलक तालिम सञ्चालन भइरहेको पनि बताए। उनले उद्योगी तथा व्यवसायीहरूलाई गुणस्तरीय सामग्री उत्पादन गर्न पनि आग्रह गरे।
यस अवसरमा उपभोक्ता अधिकार संरक्षण, बजारमा प्रतिस्पर्धा बढाउने, तथा गुणस्तरीय उत्पादनको महत्वबारे छलफल गरिएको थियो। कार्यक्रममा स्थानीय व्यापारी, उद्योगी, तथा उपभोक्ता संघका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए।
सरकारी तथा निजी क्षेत्रको सहकार्यमा उपभोक्ता अधिकार संरक्षण र बजार अनुगमनलाई अझ प्रभावकारी बनाउने अपेक्षा कार्यक्रममा व्यक्त गरिएको छ।