सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा आप्रवासी स्रोत केन्द्र (सहायता कक्ष) संचालन भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतको हाताभित्र सञ्चालनमा रहेको केन्द्रको मंगलवार एक कार्यक्रमका बिच विधिवत रुपमा उद्घाटन गरिएको हो ।
वीरुेन्द्रनगर नगरपालिका उपमेयर निलकण्ठ खनालले केन्द्रको उद्घाटन गरेका हुन् । नागरिकहरुलाई वैदेशिक रोजगारी सम्बन्धी सही सुचना प्रदान गर्नका लागि आप्रवासी स्रोत केन्द्रको सञ्चालन गरिएको उनले बताए ।
नेपाल सरकारले सञ्चालन गरेको यस कार्यक्रमका लागि स्विस सरकारमार्फत हेल्भेटास नेपालको प्राविधिक सहयोग रही आएको छ । सरकारका तिनै तहबाट कार्यान्वयनमा आएको यस सुरक्षित आप्रवासन सामी कार्यक्रमको यो चौथो चरण हो ।
तर कर्णालीमा भने सल्यान बाहेक करिब दुई महिनाअगाडीदेखि मात्रै कार्यक्रम लागु गरिएको हो । वैदेशिक रोजगारीमा जाने उदेश्यले पासपोर्ट बनाएका, वैदेशिक रोजगारीमा गएका, वैदेशिक रोजगारीबाट फर्केका र वैदेशिक रोजगारीमा गएका व्यक्तिहरुका परिवारहरुका लागि सुरक्षित आप्रवासन (सामी) कार्यक्रमले काम गर्ने वीरेन्द्रनगर नगरपालिका सुर्खेतका रोजगार संयोजक मोहन प्रसाद पौडेलले जानकारी दिए ।
उनका अनुसार सामी अन्तर्रगत थुप्रै कार्यक्रम रहेको र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्रगत रही वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनका लागि विभिन्न संयन्त्रहरले काम गरिरहेका छन् ।
आप्रवासी स्रोत केन्द्रले वैदेशिक रोजगारीमा जाने मनसायले पासपोर्ट बनाउने नागरिकहरुलाई वैदेशिक रोजगारीमा कसरी सुरक्षित जान सकिन्छ , सरकारले कुन कुन देशहरुमा जानकालागि श्रम स्वीकृती दिएको छ ।
वैदेशिक रोजगारीमा जाँदा कुन कुन प्रक्रिया अपनाउनुपर्छ र वीदेशमा कोही व्यक्ति अलपत्र वा ठगीमा परेमा समेत परामर्शसंगै उद्धारमा सहजीकरण लगायतका काम केन्द्रले गर्ने पौडेलले बताए ।
केन्द्रको उद्घाटन कार्यक्रममा बोल्दै वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनालले राज्यले स्वीकृती नदिएको देशमा नजान आम नागरिकहरुलाई आग्रह गरे । उनले वैदेशिक रोजगारीमा सके सम्म नागरिकहरुलाई जान नपरोस् भनी नीती निर्माणमा आँफुहरुले ध्यान दिएको भन्दै जानै परेको खण्डमा सुरक्षित तरिकाले र सही सुचना लिएर मात्रै जान सुझाव दिए ।