सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तेस्रो कर्णाली चलचित्र कार्यशाला सुरु भएको छ। अभिनय प्रशिक्षणमा केन्द्रित यो कार्यशाला चैत्र ९ गतेसम्म सञ्चालन हुनेछ।
उद्घाटन समारोहमा कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय घनश्याम भण्डारीले कर्णालीको सांस्कृतिक, भौगोलिक, र जैविक विशेषताहरूलाई चलचित्रमार्फत उजागर गर्न आवश्यक रहेको बताए ।
कर्णालीलाई काठमाडौंबाट हेर्दा गरिब र पछाडि परेको क्षेत्र भनेर चित्रण गरिन्छ,मन्त्री भण्डारीले भने, “तर, यहाँको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता, र सामाजिक जीवनशैली चलचित्रका माध्यमबाट सही रूपमा प्रस्तुत गर्न सकियो भने कर्णालीको वास्तविक पहिचान उजागर गर्न सकिन्छ । कर्णाली आर्थिक समृद्धिको हिसाबले पछि पर्न सक्दछ, तर अन्य पक्षमा यो कुनै पनि प्रदेशभन्दा कम छैन।”
यस कार्यशालाको मुख्य उद्देश्य कर्णालीका उदीयमान कलाकारहरूलाई अभिनयमा दक्ष बनाउनु रहेको आयोजक केबी इन्टरटेन्मेन्टका अध्यक्ष भूपेन्द्र खड्का बताउँछन् ।
खड्काले भने, “कर्णालीमा अभिनय र चलचित्रप्रति गहिरो रुचि भएका धेरै युवा छन्, तर अवसरको अभावमा उनीहरू चलचित्र क्षेत्रमा अघि बढ्न सकेका छैनन्। यो कार्यशालाले अभिनय कलाको प्रवर्द्धन गर्दै उनीहरूलाई स्थापित कलाकारहरूसँग जोड्ने अवसर प्रदान गर्नेछ।”
यो तेस्रो पटक आयोजना गरिएको कार्यशाला हो। अघिल्ला कार्यशालामा सहभागिता जनाएका कलाकारहरूलाई यसपटक उच्च स्तरको अभिनय प्रशिक्षण प्रदान गरिनेछ। यस वर्षको कार्यशालामा २६ भन्दा बढी प्रशिक्षार्थी सहभागी छन्।
कार्यशाला चैत्र ४ देखि ९ गतेसम्म सञ्चालन हुनेछ। प्रशिक्षकका रूपमा ख्याति प्राप्त कलाकार, निर्देशक, तथा लेखकहरूले अभिनयका विविध पक्षमा प्रशिक्षण दिनेछन्।
यस कार्यशालाबाट स्थानीय कलाकारहरूको अभिनय क्षमता अभिवृद्धि गर्दै, उनीहरूलाई व्यावसायिक चलचित्र क्षेत्रसँग जोड्ने अवसर प्रदान गर्ने आयोजकको
विश्वास छ।