सुर्खेत । कर्णाली प्रदेशसभामा प्रतिनिधित्व गर्ने विभिन्न दलका महिला सांसदहरूले आमसञ्चार माध्यममा महिलाका मुद्दाहरूलाई कम स्थान दिइने गुनासो गरेका छन्।
मंगलबार वीरेन्द्रनगरमा संसदीय मामिला सम्बन्धि पत्रकारहरुसँग लैङ्गिक संवेदनशील संसदीय रिपोटिङ्ग विषयक तीन दिने कार्यशालाको समापन समारोहमा सहभागी सांसदहरुले सञ्चार माध्यममा महिलाका सवालले उचित स्थान पाउन नसकेको बताएका हुन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद सन्तोषी शाहीले संसदमा महिलाहरुले उठान गर्ने विषयले निकै कम प्राथमिकता पाउने गरेको बताइन । सरकारले ठुला आयोजनाको अनुगमन तथा अन्य महत्वपूर्ण निर्णय लिदा आफूहरुलाई सहभागी नगराइने गरेको उनको गुनासो छ ।
कार्यशालाको समापन समारोहमा बोल्दै सांसदहरू सन्तोषी शाही, कल्याणी खड्का, दक्षिणा शाही, उर्मिला विश्वकर्मा, मिलन रोका, जुुमकित लामा र बलिमाया बुढाले महिला सहभागिता बढे पनि निर्णय प्रक्रियामा उनीहरूको भूमिका कमजोर रहेको बताए ।
सांसदहरूको भनाइमा पुरुषप्रधान सोच, सामाजिक चुनौती र राजनीतिक प्रक्रियामा लैङ्गिक असमानता महिलाका लागि प्रमुख बाधक रहेका छन् । उनीहरूले सञ्चारमाध्यमलाई महिला मुद्दाहरूलाई प्राथमिकता दिन आग्रह समेत गरे ।
कार्यशालामा वरिष्ठ पत्रकार शिव गाउँलेले संसदीय रिपोर्टिङमा लैङ्गिक संवेदनशीलता र खोज पत्रकारिताको महत्त्वबारे प्रशिक्षण दिएका थिए । कार्यक्रम युएन उमन को सहयोगमा महिला, कानुन र विकास मञ्च द्वारा आयोजित थियो।