जाजरकोट। जाजरकोटमा भूकम्प पीडितका लागि प्राप्त राहत सामग्री समयमै वितरण नगर्दा म्याद गुज्रिएपछि नष्ट गरिएको छ ।
विभिन्न संघसंस्था, व्यक्ति, सरकार तथा दातृ निकायहरूले भूकम्प प्रभावित भेरी नगरपालिकाका पीडितहरूलाई वितरण गर्नका लागि पठाएको राहत सामग्री लामो समयसम्म स्टोरमै थन्क्याइएपछि अब उपयोग गर्न नसकिने अवस्थामा पुगेको हो।
नगरपालिकाले म्याद सकिएका खाद्य सामग्रीहरू फोहोर सङ्कलन गर्ने ट्याक्टरमार्फत नष्ट गरेको छ। नष्ट गरिएका सामग्रीहरूमा बिस्कुट, चिउरा, चाउचाउ, भुजा तथा लत्ताकपडा रहेका छन्। लत्ताकपडामध्ये स्विटर, ज्याकेट, सारी, टिसर्टलगायतका कपडाहरू जलाइएको छ।
समयमै वितरण नगर्दा राहत सामग्री नष्ट गर्नुपर्ने अवस्था सिर्जना भएकोप्रति स्थानीयवासीहरू आक्रोशित छन्। भेरी नगरपालिका वडा नं। ८ का वडाध्यक्ष वीरबहादुर चन्दका अनुसार भूकम्प प्रभावित धेरै नागरिकहरूलाई दैनिक जीवनयापन गर्न कठिनाइ भइरहेको अवस्थामा राहत सामग्री प्रयोगविहीन बनाइनु नगरपालिकाको गम्भीर लापरबाही हो। उनले भने, 'हाम्रा नागरिकहरू साँझबिहानको छाक टार्न कठिन अवस्थामा छन्, तर नगरपालिकाले कन्टोलको हिसाबले चामलसमेत थन्क्याएर राखेको थियो।'
यस विषयमा नगरपालिकाका उपप्रमुख सीता जैसीले आफूलाई राहत सामग्री नष्ट गरिएको जानकारी नदिइएको बताइन्। त्यस्तै, नगरपालिका विपद् शाखा प्रमुख यज्ञराज गौतमले भने म्याद गुज्रिएका केही राहत सामग्री नष्ट गरिएको स्वीकार गरेका छन्। उनले भने, 'हामी सबै बसेर काम नलाग्ने र म्याद गुज्रिएका खाद्यान्नहरू नष्ट गरेका हौँ। केही उपयोगी सामग्री सुरक्षित राख्ने प्रयास गर्यौँ, तर कतिपय सामग्रीको म्याद सकिएकाले फाल्नुपर्यो ।'
स्थानीय नागरिक समाजका अगुवाहरूले नगरपालिकाको यो कदमलाई गम्भीर कमजोरीका रूपमा लिएका छन्। उनीहरूका अनुसार संकटको समयमा आउन नसकेको राहतको कुनै अर्थ रहँदैन । यदि सामग्री समयमा वितरण गरिएको भए पीडितहरूले राहत पाउने थिए, तर विलम्बका कारण सामग्री नष्ट गर्नुपर्ने अवस्था आउनु अत्यन्त दुःखद भएको उनीहरूको भनाइ छ। राहत सामग्री वितरणमा देखिएको लापरबाहीप्रति नगरपालिकाले स्पष्ट जवाफ दिनुपर्ने स्थानीयबासीहरूको माग छ।