कालिकोट । प्रविधिको तीव्र विकाससँगै कालिकोट जिल्लाको नरहरिनाथ गाउँपालिकामा अनलाइनमार्फत नागरिकता सिफारिसको प्रक्रिया थालनी गरिएको छ। गाउँपालिकाको यस पहलले सेवाग्राहीलाई सहज सेवा उपलब्ध गराउँदै समयको बचत र प्रशासनिक प्रक्रियालाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
गृह मन्त्रालयको केन्द्रीकृत नागरिकता सूचना व्यवस्थापन प्रणालीमार्फत सञ्चालनमा आएको यो सेवाले नागरिकता सिफारिस प्रक्रियालाई पूर्ण रूपमा डिजिटल बनाएको छ । कालिकोटका नौ स्थानीय तहमध्ये हालसम्म रास्कोट नगरपालिका र नरहरिनाथ गाउँपालिकाले यो प्रणाली अपनाइसकेका छन् । विशेष रूपमा, नरहरिनाथ गाउँपालिकाका वडा नम्बर ३, ४, ५, र ८ मा यसको प्रभावकारी कार्यान्वयन सुरु भइसकेको छ।
गाउँपालिकाका सूचना प्रविधि अधिकृत भरत कठायतका अनुसार, गृह मन्त्रालयमार्फत आवश्यक तालिम लिएर सबै वडामा यो प्रणाली अनिवार्यरूपमा लागू गर्ने परिपत्र भइसकेको छ । गत माघ महिनाबाट औपचारिक रूपमा सुरु भएको यस प्रणालीले सेवाग्राहीलाई समयको बचत, खर्चमा कमी, र सेवा सहज बनाउने अवसर प्रदान गरेको छ।
सिफारिस प्रक्रिया कसरी हुन्छ ?
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज पौडेलका अनुसार, निवेदकले आफ्ना विवरणहरू अनलाइन प्रणालीमा प्रविष्ट गरेपछि स्वचालित रूपमा सिफारिस तयार हुन्छ । त्यसपछि वडा अध्यक्षको हस्ताक्षर र छाप सहित प्रमाणित गरिएपछि डिजिटल प्रणालीमार्फत सम्बन्धित निकायमा पठाइन्छ। यस प्रक्रियाले मानव त्रुटि घटाउनुका साथै सेवाग्राहीलाई झन्झटिलो कागजी प्रक्रियाबाट मुक्त गरेको छ।
नागरिकलाई सुविधा, प्रशासनलाई सरलतागाउँपालिका अध्यक्ष नगेन्द्र बहादुर विष्टका अनुसार, यो प्रविधिले नागरिकलाई ठूलो सुविधा प्रदान गरेको छ। पहिले कागजात अपूर्ण हुँदा सेवाग्राहीहरू जिल्ला प्रशासन कार्यालयबाट फर्किनुपर्ने बाध्यता थियो। तर अब, अनलाइन प्रणालीमार्फत सबै आवश्यक कागजातहरू अपलोड गरेपछि पुनः कार्यालय धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ।
हालसम्म नरहरिनाथ गाउँपालिकामा नौ जनाले अनलाइन प्रणालीबाट नयाँ नागरिकता प्राप्त गरिसकेका छन् । विशेष रूपमा, वडा कार्यालयहरूबाट प्रदान गरिने नागरिकता सिफारिस अब पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सहज रूपमा तयार गर्न सकिने भएको छ।
प्रतिलिपि नागरिकता अझै अनलाइन उपलब्ध छैनहालसम्म प्रतिलिपि नागरिकताको लागि भने अनलाइन प्रणाली लागू भइसकेको छैन। यसबारे थप प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयबाट निर्देशनको प्रतीक्षा गरिएको सूचना प्रविधि शाखा नरहरिनाथले जनाएको छ।