सल्यान । सल्यानमा वन डढेलो नियन्त्रणका लागि जिल्लाका दश वटै स्थानीय तहमा संयन्त्र गठन गरिएको छ । हालसम्म सात स्थानीय तहमा संयन्त्र गठन भइसकेको छ भने तीन पालिकामा गठनको तयारी भइरहेको छ।
डिभिजन वन कार्यालयका अनुसार कपुरकोट, त्रिबेणी, छत्रेश्वरी, कुमाख, दार्मा गाउँपालिका तथा बन्गाड कुपिण्डे र शारदा नगरपालिकामा संयन्त्र गठन भइसकेको छ। बागचौर नगरपालिका, सिद्धकुमाख र कालिमाटी गाउँपालिकामा पनि चाँडै गठन गरिने जनाइएको छ।
डिभिजन वन कार्यालयका सूचना अधिकारी ललितजंग खड्काले वन डढेलो नियन्त्रणका लागि सबै सरोकारवालाको सक्रिय भूमिका आवश्यक रहेको बताए। वन संरक्षणको दायित्व नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीमात्रै नभई स्थानीय तह तथा सामुदायिक वनकै पनि जिम्मेवारी हुने उनले बताए।
शारदा नगरपालिकामा ५१ सदस्यीय संयन्त्र गठन गरिएको छ, जसको संयोजक उपप्रमुख सुस्मिता सापकोटा सुनार रहनुभएको छ। उनले डढेलो लगाउने व्यक्तिलाई कानुनी कारबाही गर्नुपर्ने बताउँदै वन संरक्षणमा सबैको समान जिम्मेवारी रहेको उल्लेख गरिन्।
डिभिजन वन कार्यालयका प्रमुख टेक बहादुर रावलले सचेतना अभिवृद्धि नै डढेलो रोकथामको मुख्य उपाय भएको बताए। दमकललगायत स्रोतसाधन अभाव रहेको अवस्थामा सचेतनामूलक कार्यक्रम प्रभावकारी हुने उनको भनाइ छ।
कार्यक्रममा विभिन्न सरोकारवालाले वन आगलागी रोकथाम, नियन्त्रण र क्षति न्यूनीकरणका लागि समन्वयात्मक रूपमा अघि बढ्न आवश्यक रहेकोमा जोड दिए।