काठमाडौँ । बालबालिकालाई कुलतबाट जोगाउन परिवार र समुदायको मुख्य भूमिका रहने जिल्ला अदालत दैलेखका न्यायाधीश कुलप्रसाद पाण्डेले बताएका छन्। दुल्लू नगरपालिकाको आयोजनामा दुल्लूमा सम्पन्न दुईदिने बाल न्याय प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यशालामा बोल्दै न्यायाधीश पाण्डेले बालबालिकालाई सत्मार्गमा लैजान समुदायको विशेष चासो आवश्यक रहेको उल्लेख गरे।
उनले बालबालिका भविष्यका कर्णधार भएकाले उनीहरूलाई सही मार्गदर्शन गर्न परिवार र समाजको समयमै ध्यान नपुगेको खण्डमा गलत बाटोमा जाने सम्भावना बढ्ने बताए। साथै, बाल न्याय प्रणालीले बालबालिकालाई उन्मुक्ति होइन, सुधारको अवसर प्रदान गर्ने उल्लेख गरे।
कार्यशालाका अवसरमा बाल न्याय समन्वय समितिका सदस्य एवं सोसेक नेपालका कार्यकारी निर्देशक हिरासिंह थापालाई हालै गैसस महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएकोमा खादा र माला लगाएर सम्मान गरिएको थियो। सम्मानपछि थापाले यो पहिचानले आफूलाई थप प्रेरित गरेको बताए।

दुल्लू नगरपालिकाका प्रमुख भरतप्रसाद रिजालको अध्यक्षतामा सम्पन्न कार्यशालाको उद्घाटन कार्यक्रममा उपप्रमुख बिना कार्की, दैलेख जिल्ला अदालतका बाल मनोविज्ञ पत्रकार अमर सुनार, दुल्लू नगरपालिका शिक्षा शाखा प्रमुख विकासजङ्ग शाहीलगायतले बाल न्याय प्रणालीको महत्वबारे प्रकाश पारे।
कार्यशालामा न्यायाधीश कुलप्रसाद पाण्डे, बाल मनोविज्ञ पत्रकार अमर सुनार, दैलेख जिल्ला अदालतका बैतनिक वकील हरि खत्री, जिल्ला सरकारी वकील कार्यालय दैलेखका सहायक जिल्ला न्यायाधिवक्ता धर्मराज न्यौपानेले सहजीकरण गरेका थिए।
कार्यशालाको दोस्रो दिन शनिबार प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय दैलेखका डीएसपी सुनिल दाहाल र दुल्लू नगरपालिकाका शिक्षा शाखा प्रमुख विकासजङ्ग शाहीले सहजीकरण गर्ने कार्यक्रम रहेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख उमा उपाध्यायले जानकारी दिएकी छन्।