जाजरकोट । गत वर्षको भूकम्पले क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय जाजरकोटको भवन पुनर्निर्माण गर्न थालिएको छ। २०७९ कात्तिक १७ गते जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको विनाशकारी भूकम्प पछि कार्यालयको संरचना प्रयोगयोग्य नरहेकाले दातृ निकायको सहयोगमा पुनर्निर्माण प्रक्रिया अघि बढाइएको हो।
जनतालाई शान्ति सुरक्षा दिन जिल्लाभर ३३ वटा प्रहरी युनिट सञ्चालनमा छन् । सातवटा स्थानीय तहमा रहेका प्रहरी युनिटका भवन निर्माणका लागि स्थानीय बासिन्दाले जग्गा चन्दा दिए पनि बजेट अभावका कारण अझै पुराना, भूकम्पले क्षतिग्रस्त माटो, ढुङ्गाका कच्ची घरबाटै सेवा प्रवाह गरिँदै आएको छ। प्रहरी कर्मचारीहरू जोखिम मोलेर कार्यरत रहँदा सेवा प्रवाहमा पनि कठिनाइ भएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी पुरुषोत्तमप्रसाद पाण्डे का अनुसार भूकम्पले क्षति पुर्याएका सबै प्रहरी युनिटहरूको विवरण गृह मन्त्रालय तथा सम्बन्धित निकायमा पेस गरिसकिएको छ। २०३४ सालमा निर्माण गरिएको ढुङ्गा(माटोको कच्ची भवन भूकम्पले चर्किएपछि प्रशासनिक कामकाज, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, हिरासत थुनुवा कक्ष, सञ्चार सेवा प्रवाह लगायतका कार्यहरू प्रभावित भएका छन्।
भवन पूर्ण रूपमा बस्न नमिल्ने अवस्थामा पुगेपछि प्रहरी कर्मचारीहरूले अस्थायी त्रिपाल र टहरामुनि बसेर सेवा प्रवाह गर्नुपरेको डिएसपी पाण्डे बताउँछन्। “प्रशासनिक भवन जीर्ण भएपछि जनताले पाउने सेवा सहज हुन सकेको छैन। अस्थायी संरचनाबाट सेवा दिन कठिन भएको छ,” उनले भने।
भूकम्पले पुर्याएको क्षतिलाई मध्यनजर गर्दै युनोपिओस दातृ निकाय को सहयोगमा प्रशासनिक भवन पुनर्निर्माणको प्रक्रिया अघि बढाइएको छ। जीर्ण भवन भत्काएर साढे दुईतले पक्की प्रशासनिक भवन एक वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य रहेको डिएसपी पाण्डेले जानकारी दिए।
उनका अनुसार, “भवन भत्काएर पुनर्निर्माणको काम सुरु भइसकेको छ। हामीले दातृ निकायलाई पुनर्निर्माणका लागि आग्रह गरेका थियौं, उनीहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। एक वर्षभित्रै नयाँ भवन तयार हुनेछ।”
जिल्लाका अन्य प्रहरी युनिटहरू भने अझै पनि क्षतिग्रस्त वा पुराना भाडाका भवनबाट सेवा प्रवाह गरिरहेका छन्। केही वर्षअघि इलाका प्रहरी कार्यालय रिम्ना, इलाका प्रहरी कार्यालय सिम, इलाका प्रहरी कार्यालय रामीडाँडा, र इलाका प्रहरी कार्यालय जगतीपुरका भवन पक्की संरचनामा परिणत भइसकेका छन्।
यसैगरी, इलाका प्रहरी कार्यालय दल्ली र प्रहरी चौकी कुदुमा बहुवर्षीय बजेट स्वीकृत भइसकेको र निकट भविष्यमै नयाँ भवन निर्माण सुरु हुने डिएसपी पाण्डेले बताए।
जाजरकोटमा प्रहरी सेवाको प्रभावकारिता बढाउनका लागि सुरक्षित र बलियो पूर्वाधार अपरिहार्य देखिएको छ। भूकम्पले पुर्याएको क्षति, बजेट अभाव, अस्थायी संरचनाबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता जस्ता समस्याहरू समाधान गर्न राज्य र दातृ निकायबीच थप समन्वय आवश्यक रहेको स्थानीय सरोकारवालाहरू बताउँछन्।
नयाँ भवनको निर्माणले प्रहरी प्रशासनलाई व्यवस्थित बनाउनुका साथै जनतालाई प्रभावकारी सेवा प्रवाह गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।