सुर्खेत । कर्णाली प्रदेशमा क्षयरोग नियन्त्रणमा ठूलो चुनौती देखिएको छ । यहाँ लक्ष्यअनुसारका आधाभन्दा बढी बिरामी उपचार बाहिर रहेका छन्, जसले प्रदेशभरि रोग नियन्त्रण प्रयासलाई जटिल बनाइरहेको छ ।
स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका अनुसार आर्थिक वर्ष २०८०/८१ मा कर्णालीमा ४ हजार १०६ जना क्षयरोगका बिरामीलाई उपचारमा ल्याउने लक्ष्य राखिएको थियो । तर, लक्ष्यको तुलनामा केवल १ हजार ७१४ जना बिरामी मात्र उपचारमा आएका छन् ।
यसरी, २ हजार ३०० भन्दा बढी बिरामी उपचारको दायराबाट बाहिर रहेका छन् । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ८९९ जना नयाँ बिरामी पत्ता लागेका छन् । निर्देशनालयका अनुसार कर्णालीमा क्षयरोगका नयाँ बिरामी पत्ता लाग्ने दर प्रतिलाख जनसंख्यामा १०२ रहेको छ ।
क्षयकुष्ठ फोकल पर्सन पदम केसीका अनुसार उपचारबाहिर रहेका बिरामीलाई पहिचान गरी स्वास्थ्य सेवाको पहुँचमा ल्याउने कार्यलाई प्राथमिकता दिइएको छ । उनका अनुसार प्रदेशभर प्रतिलाख जनसंख्यामा ४२ जना बिरामी पहिचान गरिनुपर्ने लक्ष्य राखिएको छ, तर अझै ठूलो संख्यामा बिरामी उपचारबाहिर रहेका छन् । यसलाई ध्यानमा राख्दै खोजपडताल तथा अन्य कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
क्षयरोग प्रभावित जिल्ला
कर्णाली प्रदेशमा सबैभन्दा धेरै क्षयरोग प्रभावित जिल्ला प्रदेश राजधानी सुर्खेत रहेको छ, जहाँ फागुन मसान्तसम्म ३१२ जना नयाँ बिरामी पत्ता लागेका छन् । सुर्खेतपछि सल्यानमा १६७ जना, रुकुम पश्चिममा १०५ जना, दैलेखमा ८७ जना, जाजरकोटमा ७० जना, कालीकोटमा ५२ जना, जुम्लामा ४३ जना, डोल्पामा २३ जना, मुगुमा २१ जना तथा हुम्लामा सबैभन्दा कम १९ जना क्षयरोगका बिरामी पहिचान भएका छन् ।
क्षयरोग नियन्त्रणका लागि कर्णाली प्रदेशमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । एआई प्रविधिको प्रयोग गरी समुदायस्तरमा सक्रिय खोजपडताल कार्यक्रम सञ्चालन गरिएको छ । साथै, प्रादेशिक तथा निजी मेडिकल कलेजहरूमा स्वास्थ्यकर्मीहरूका लागि नियमित चिकित्सकीय शिक्षा कार्यक्रम सञ्चालन भइरहेको छ ।
विश्व क्षयरोग दिवसको अवसरमा सुर्खेतमा विशेष सचेतना कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उपचारबाहिर रहेका बिरामीलाई पहिचान गरी उपचारमा ल्याउन आह्वान गरे । उनले सन् २०५० भित्र नेपाललाई क्षयरोगमुक्त बनाउने लक्ष्य हासिल गर्न बस्तीबस्तीमा खोजी कार्य तीव्र बनाउन सुझाव दिए । स्वास्थ्य सेवा निर्देशक डा। रविन खड्काले प्रदेशमा क्षयरोग नियन्त्रणका लागि भइरहेको प्रयासबारे जानकारी दिँदै आगामी दिनमा खोजपडताललाई अझ प्रभावकारी बनाइने प्रतिबद्धता जनाए ।
क्षयरोग नियन्त्रणका लागि सबै पक्षको समन्वय आवश्यक रहेको भन्दै सम्बन्धित निकायले थप प्रभावकारी योजना तथा कार्यक्रम अघि बढाउनु आवश्यक देखिन्छ ।