दैलेख । भारत सरकारको आर्थिक सहयोगमा दैलेखको दुल्लु नगरपालिकास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय मा बहुउद्देश्यीय भवन निर्माणको शिलान्यास गरिएको छ ।
शिलान्यास समारोहमा कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, काठमाडौंस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंह, तथा दुल्लु नगरपालिकाका मेयर भरतप्रसाद रिजाल सहभागी थिए ।
३ करोड ९० लाख रुपैयाँ लागतमा निर्माण हुने साढे तीन तल्ले भवनमा हस्तकला प्रदर्शन क्षेत्र, पुस्तकालय, सांस्कृतिक कक्ष, बहुउद्देश्यीय हल, कार्यालय क्षेत्र लगायतका सुविधाहरू रहनेछन् ।
भारत सरकारले उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) अन्तर्गत नेपालका विभिन्न क्षेत्रमा ५६३ भन्दा बढी परियोजनाहरू सञ्चालन गरिसकेको छ, जसमध्ये १५ वटा कर्णाली प्रदेशमा रहेका छन्। साथै, कर्णालीलाई ५० वटा एम्बुलेन्स र ८ वटा स्कूल बस समेत उपहार प्रदान गरिएको छ।
शिलान्यास कार्यक्रममा वक्ताहरूले भारत–नेपाल विकास साझेदारीको महत्व औंल्याउँदै, निर्माणाधीन पूर्वाधारले शिक्षा र सांस्कृतिक संरक्षणमा योगदान पुर्याउने विश्वास व्यक्त गरे।