रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा भूकम्प पुर्नलाभ परियोजना अन्तरर्गतका विभिन्न कार्यक्रम सम्पन्न भएका छन् । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले पालिकामा संचालन गरेका भूकम्प पुर्नलाभ परियोजना अन्तरर्गतका विभिन्न कार्यक्रमहरु सम्पन्न भएका हुन् ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको आयोजना, आईएफआरसीको आर्थिक सहयोग तथा पालिकाको समन्वयमा त्रिवेणीमा भूकम्प पुर्नलाभ सम्बन्धिका विभिन्न कार्यक्रमहरु संचालन भएका थिए ।
सोही परियोजना अन्तर्गत पालिकामा संचालन भएका कार्यक्रमहरुको बारेमा मंगलबार पालिकाको कार्यालय खारानेटामा परियोजना समापन तथा कार्यशाला कार्यक्रमको आयोजना गरी शाखाले जानकारी बनाएको हो । शाखाका अनुसार पालिकामा ७ सय जनालाई १५ सयका दरले नगद सहयोग, पालिकाको वडा नम्बर ९ र १० का एक सय घरधुरिलाई अस्थायी आवास निर्माण गर्न ५० हजार रुपैयाँका दरले नगद सहयोग, ९ र १० नम्बर वडाका ४० घरपरिवारलाई अस्थायी आवास स्तरउन्तीका लागि ५० हजार नगद सहयोग गरिएको थियो ।
त्यस्तै खानेपानी स्वच्छता कार्यक्रम अन्तरर्गत वडा नम्बर ९ र १० का एक सय परिवारलाई शौचालय निर्माण तथा मर्मत, खानेपानी ट्याङ्की व्यवस्थापनका लागि प्रति घरपरिवार २२ हजार ५ सयका रुपैयाँका दरले नगद सहयोग गरिएको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका कार्यक्रम संयोजक सरोज थापाले बताए । पालिकामा रेडक्रसले वडा नम्बर ७, ९ र १० मा ७ वटा खानेपानी ट्याङ्की मर्मत, ३ वटा शौचालय, ३ वटा खानेपानी तथा सरसफाइका आयोजना निर्माण सम्पन्न गरेको छ ।
परियोजना समापन कार्यक्रममा रेडक्रसद्वारा गरिएका विभिन्न क्रियाकलाप अन्तर्गत खानेपानी, रिचार्ज पोखरी, विद्यालयका खानेपानी, शौचालय निर्माण, अस्थायी आवास निर्माण, वहुउद्देश्यीय नगद सहायता जस्ता विभिन्न कामहरुको समिक्षा तथा सहभागीहरुले भनाई राखेको त्रिवेणी गाउँपालिका फोकल प्रर्सन खिमबहादुर ओलीले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमका सभापति बलबिर पुनको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष गणेशकुमार केसीको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै त्रिवेणी गाउँपालिका उपाध्यक्ष राजकुमारी रेउले खडका, प्रमुख प्रशासकीय अधिकृत यज्ञबहादुर भण्डारी, १० वटै वडाका वडा अध्यक्ष, रेडक्रस जिल्ला शाखाका योजना अनुगमन तथा मुल्यांकनकर्ता शैलेस श्रेष्ठ, शाखाका पदाधिकारीहरु तथा परियोजनाबाट लाभान्वित समुदायहरुको उपस्थित रहेको थियो ।