काठमाडौँ : जसरी वर्तमान विश्व फूटबलको कुरा गर्दा क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको नाम छुट्दैन, त्यसरी वर्तमान विश्व क्रिकेटको कुरा गर्दा विराट कोहलीको नाम सबैभन्दा अगाडि आउँछ । फूटबलमा रोनाल्डो र मेस्सीको प्रतिष्पर्धा अझ सँधै चर्चा र चाँसोको विषय बन्छ । तर क्रिकेटको कुरा गर्दा विराट कोहलीको नाम काफी हुन्छ । विश्वकप क्रिकेट चलोस् वा आइपीएल क्रिकेट कोहलीले उपाधि जित्न सक्छ कि सक्दैन भन्ने चर्चा व्यापाक हुन्छ ।
यसका पछाडि एउटै कारण छ, अहिलको विश्व क्रिकेटमा कोहली जति सफल, चर्चित र सर्वोत्कृष्ट क्रिकेटर अर्को छैन । त्यसैले पनि उनलाई ‘किङ कोहली’ भन्ने गरिन्छ । वर्तमान विश्व क्रिकेटका सबैभन्दा शक्तिशाली खेलाडी भएका कारण उनलाई क्रिकेटको राजा भनिन्छ ।
क्रिकेटका दिग्ग्ज र फ्यानहरुले राजा उपनाम केवल कोहलीलाई मात्रै दिने गरेका छन् । जसलाई क्रिकेटको सर्वोच्चको निकाय आइसीसीले पनि अनुमोदन गरेको छ । बेलाबखत कोहलीले उत्कृष्ट ब्याटिङ गरेर टिमलाई जिताउँदा होस् वा शतक बनाउँदा आइसीसीले उनलाई ‘किङ’ भनेरै सामाजिक सञ्जालमा फोटो तथा पोस्टर हालिरहेको हुन्छ । यसबाट पनि पुष्टि हुन्छ कि कोहली विश्व क्रिकेटका सर्वोत्कृष्ट क्रिकेटर हुन् ।
उनीभन्दा अगाडि यदि कोही छ भने त्यो नाम हो, सचिन तेन्दुलकर । जसलाई क्रिकेटका भगवान भनेर सम्बोधन गरिन्छ । दुबै भारतीय हुन् । विराट कोहलीले उत्कृष्ट रुपमा शतक बनाउँदा त्यसको तुलना उनका समकक्षी स्टिभ स्मिथ, जोय रुट र केन विलियम्सनसँग हुँदैन । सिधा क्रिकेटका भगवान सचिन तेन्दुलकरसँग हुन्छ । किनकी सचिनका धेरै जसो कीर्तिमान तोड्नेमा सबैभन्दा अगाडि विराट कोहली छन् । अनि विराटले तोड्न बाँकी रहेको सबैभन्दा ठूलो रेकर्ड शतकको पनि शतक अर्थात एक सय शतक बनाउन कोहलीलाई अब केवल १८ शतकको आवश्यकता छ ।

यदि विराटले सचिनको एक सय शतकको कीर्तिमान तोडेको खण्डमा सम्भवतः क्रिकेटका सबैभन्दा ठूला खेलाडी कोहली हुनेछन् । जसलाई पहिल्यै राजाका रुपमा सम्बोधन गरिसकिएको छ । कोहलीले यसरी राजाको सम्बोधन वा उपाधि पाउनुका पछाडि उनले जितेका विश्वकप उपाधि, व्यक्तिगत अवार्ड तथा पुरस्कार हुन् । उनले आइसीसीका सबै किसीमका प्रतियोगिताको उपाधि जितेका छन् । अनि टी ट्वेन्टी विश्वकप, एकदिवसीय विश्वकप र च्याम्पियन्स ट्रफी जितिसकेका उनले क्रिकेटमा पाइला टेकेकै प्रतियोगिता १९ वर्षमूनिको विश्वकप क्रिकेटको उपाधि जितेका थिए ।
उनले आइसीसीका १० भन्दा बढी सर्वोत्कृष्ट व्यक्तिगत अवार्ड जितेका छन् । विश्व क्रिकेटमा उनले जित्न बाँकी केही पनि छैन । तर उनले सबैभन्दा धेरै खेलिरहेको एउटा सर्वाधिक चर्चित र महंगो प्रतियोगिताको उपाधि जित्न भने अहिलेसम्म पनि सकेका छैनन् । त्यो हो, आइपीएल ।
आइपीएलको १८ औँ संस्करण : आरसीबी र कोहलीको १८ नम्बरको ‘नेमप्लेट’ र ‘टेम्पलेट’
आइपीएलका सबैभन्दा सफल र सर्वोत्कृष्ट ब्याटरका रुपमा परिचय बनाएका कोहलीले कप्तानका रुपमा सबैभन्दा असफल छाप छाडेका छन् । झण्डै १० वर्ष कम् रोयल च्यालेन्जर्स बेंग्लोरको कप्तानी गरेका कोहलीले एउटा पनि उपाधि दिलाउन सकेनन् । जबकी उनीसहित एबी डिभिलियर्स, क्रिस गेल, शेन वाट्सन जस्ता सर्वोत्कृष्ट ब्याटरले भरिएको आरसिबीले अहिलेसम्म पनि एउटा उपाधि जित्न सकेको छैनन् ।
अब कोहलीले जित्न बाँकी भनेकै यही एउटा ट्रफी मात्रै हो, बाँकी उनले सबै जितिसकेका छन् । के अब कोहलीले आइपीएल सुरु भएको १८ औँ वर्षमा, कोहलीले डेब्यु गरेदेखि एउटै टिम आरसिबीमा खेलिरहेको १८ औँ वर्षसम्म र कोहलीको जर्सी नं. १८ यसपटक लक्की होला वा अनलक्की ? वा कोहलीले यसपटक आइपीएल ट्रफी जित्लान ? सर्वत्र चाँसोको विषय छ ।
आइपीएलमा आरसिबी र भारतीय टिममा कोहलीले १८ नम्बरको जर्सी लगाउँछन् । आईपीएलमा सबैभन्दा लोकप्रिय र सफल खेलाडी भइसकेपछि कोहलीको १८ नम्बर जर्सी चर्चित छ । अहिलेको विश्व क्रिकेटमा सबैभन्दा बढी बिक्ने भनेकै कोहलीको जर्सी नं. १८ हो । यसपछाडिको कारण कोहलीको १८ नम्बरमा धेरै संयोग र घटनाक्रमहरु जोडिन्छन् । कोहलीले भारतीय टिमबाट १८ अगष्ट, २००८ मा डेब्यू गरेका थिए ।
अनि कोहलीको जीवनलाई नै सँधै चर्चामा ल्याउने कोहलीका बुबाको निधन पनि हो । जुन १८ डिसेम्बरमा उनको बुवाको निधन भएको थियो । जुन पल उनी क्रिकेट खेलिरहेका थिए । र, बुवाको निधनपछि पनि उनले खेललाई निरन्तरता दिँदै टिमलाई जिताएर मात्रै घर फर्किएका थिए । त्यसैले यो नम्बरले उनको व्यक्तिगत र व्यावसायिक जीवनमा गहिरो महत्त्व राख्छ ।
‘भारतीय टिमबाट १८ अगष्टमा मैले डेब्यू गरेको थिएँ । मेरो बुबाको निधन पनि १८ डिसेम्बर २००६ मा भएको थियो । मेरो जीवनको महत्त्वपूर्ण र दुःखद घटना पनि १८ तारिखमै भएका कारण मैले १८ नम्बरको जर्सी लगाउने निर्णय गरेको थिएँ’, उनले एक अन्तर्वार्तामा भनेका थिए ।
रोयल च्यालेन्जर्स बैंगलुरु आरसीबी एउटा ठूलो फ्यानबेस भएको टिम हो । तर, अहिलेसम्म उनको टिम आरसीबीले आइपीएलको उपाधि जित्न सकेको छैन । अब आईपीएलको १८औँ संस्करणमा यो प्रश्न यति धेरै उठेको छ कि के कोहलीले १८ नम्बरको जर्सी लगाएर १८ औँ संस्करणको आईपीएलमा आफ्नो पहिलो उपाधि जित्न सक्छन् ?

सन् २००८ मा पहिलोपटक आईपीएलमा प्रवेश गरेपछि कोहलीले आफ्नो सम्पूर्ण करियर आरसीबीसँगै बिताएका छन् । उनको आईपीएल यात्रा निकै प्रेरणादायक छ । पहिलो केही वर्षमा औसत प्रदर्शन गरेका कोहलीले समयसँगै आफूलाई एक उत्कृष्ट ब्याटरका रूपमा स्थापित गरे । उनको सबैभन्दा उत्कृष्ट सिजन सन् २०१६ मा रह्यो, जहाँ उनले १६ खेलमा ९७३ रन बनाए, जुन कुनै पनि एकल सिजनमा कुनै पनि ब्याटरले बनाएको सबैभन्दा बढी रनको कीर्तिमान हो । त्यो वर्ष उनले चार शतक प्रहार गरे, जुन आईपीएल इतिहासमै अभूतपूर्व उपलब्धि हो ।
अहिलेसम्म कोहलीले आईपीएलमा ८ शतक र ५६ अर्धशतक प्रहार गरिसकेका छन् । उनको उच्च स्कोर ११३ रन छ । आईपीएलमा उनले ८ हजारभन्दा बढी रन बनाइसकेका छन्, जसले उनलाई लिगको अग्रणी रन स्कोरर बनाएको छ । उनका स्ट्राइक रेट लगभग १३२ र औषत ३८.९५ को रहेको छ, जुन कुनै पनि शीर्ष क्रमका ब्याटरका लागि निकै प्रभावशाली हो ।
कोहलीले यसपटक आईपीएल ट्रफी जित्न सक्लान ?
कोहलीको आईपीएल यात्रामा केही अविस्मरणीय क्षणहरू छन् । उनले एबी डि भिलियर्ससँग मिलेर २२९ रनको साझेदारी गरेका छन्, जुन आईपीएल इतिहासकै सबैभन्दा ठूलो साझेदारी हो । साथै, उनले लगातार ७ सिजनमा ३०० भन्दा बढी रन बनाउने कीर्तिमान बनाएका छन् । यति धेरै व्यक्तिगत सफलता हात पारे पनि कोहलीको आईपीएल उपाधि जित्ने सपना भने अझै अपूर्ण छ ।
विगतका केही वर्षहरूमा आरसीबीले प्लेअफसम्म यात्रा तय गरे पनि अन्तिम गन्तव्यसम्म पुग्न असफल रह्यो । कोहलीले कप्तानका रूपमा सन् २०१६ मा आफ्नो टिमलाई फाइनलसम्म पुर्याएका थिए । तर, सनराइजर्स हैदराबादसँग हार ब्यहोरे । सन् २०२१ मा कप्तान पदबाट हटेपछि पनि उनको प्रदर्शनमा कुनै कमी आएको छैन । सन् २०२३ र २०२४ को सिजनमा उनले पुनः उत्कृष्ट प्रदर्शन गर्दै टिमलाई बलियो बनाएका छन् ।
आईपीएलको १८औँ संस्करण विराट कोहली र आरसीबीका लागि विशेष हुन सक्छ । संयोगले पनि रोचक संकेत गर्छ- उनको जर्सी नम्बर १८, जीवनका महत्त्वपूर्ण घटना १८ तारिखमा र अब १८औँ आईपीएल संस्करण । के यो संयोग मात्र हो या उनको भाग्य यसपटक चम्किनेछ ?
फ्यानहरू आशावादी छन् कि यो वर्ष कोहलीले अन्ततः आफ्नो आईपीएल उपाधि जित्ने सपना पूरा गर्नेछन् । उनको अनुभव, अटुट समर्पण र मैदानमा देखिने जोसले आरसीबीलाई उपाधि जिताउन सक्छ । यदि टिमले समन्वय बनाएर उत्कृष्ट खेल प्रदर्शन गर्यो भने १८ नम्बरको जर्सीले १८औँ संस्करणमा इतिहास रच्न सक्ने सम्भावना प्रवल छ ।
आरसीबीले उद्घाटन खेलमा कोलकत्ता नाइट राइडर्सविरुद्ध सहज जित पनि दर्ता गरेको छ । यदि यही गतिमा बैँगलुरुको यात्रा अघि बढ्ने हो भने यो सिजन पक्कै पनि कोहलीको लागि स्मरणयोग्य रहन सक्छ ।
तर यसका लागि कोहलीसँगै उनको पूरै टिम प्रतियोगिताभरी आफूलाई कसरी उपाधि जित्नमा केन्द्रित गर्छ ? भन्ने प्रश्न छ । अन्यथा कोहलीले सबैभन्दा धेरै आठ शतक बनाउँदा पनि एउटै उपाधि जित्न नसक्नु उनको समस्या होइन, उनको टिम पुरै प्रतियोगिताभर कोहलीमा अत्याधिक निर्भर रहेर हो ।
यसपटक पनि रजत पटिदारको नेतृत्वमा रहेको आरसिबीमा त्यो समस्या दोहोरिएमा यसले सबैभन्दा बढी कोहलीको अर्को एक आशा र सपनामाथि तुुषारापात हुनेछ ।
नेपाल खेलकुद डटकमको सहयोगमा