जाजरकोट । जिल्लाका विभिन्न सामुदायिक वनहरूमा अनियन्त्रित वन फँडानी भइरहेको छ। शिवालय गाउँपालिका, छेडागाड नगरपालिका, जुनीचाँदे गाउँपालिका र कुसे गाउँपालिकाका वनजङ्गलबाट सल्ला, चोत्रालगायतका बोटबिरुवा बिचौलिया र उपभोक्ता समितिको मिलेमतोमा धमाधम कटान भइरहेको छ।
स्थानीयहरूका अनुसार डिभिजन वन कार्यालयबाट अनुमति लिएको भन्दै उपभोक्ता समितिले जथाभावी रुख कटान गरिरहेका छन्। ठूलो संख्यामा फँडानी गरिएका सल्लाका रुख सडकछेउ र जङ्गलमै फालिएका छन्, केही त कुहिसकेका छन्। साथै, चुत्राका जरासमेत निकाल्ने क्रम बढ्दा पर्यावरणीय सन्तुलन बिग्रिने चिन्ता बढेको छ।
चुत्रो स्वास्थ्य लाभदायक भएकाले यसको जरा धमाधम निकालिँदा औषधीय वनस्पति सङ्कटमा पर्ने, चराचुरुङ्गीको बासस्थान नष्ट हुने, बर्खामा पहिरोको जोखिम बढ्ने विज्ञहरूले चेतावनी दिएका छन्। स्थानीय कृष्णबहादुर शाहीले डिभिजन वन कार्यालय, उपभोक्ता समिति र बिचौलियाको मिलेमतोमा वन विनाश भइरहेको आरोप लगाएका छन्।
अनियन्त्रित वन फँडानीका कारण दीर्घकालीन आम्दानीको स्रोत गुम्ने, पर्यावरणीय सन्तुलन बिग्रिने र जनजीवनमा प्रत्यक्ष असर पर्ने जोखिम बढ्दै गएको छ। तर, सम्बन्धित निकाय मौन बसेको भन्दै सर्वसाधारणले तत्काल कदम चाल्न माग गरेका छन्।
