काठमाडौँ । नेपालका अधिकांश समुदायमा महिनावारी (रजस्वला) हुँदा महिलालाई ‘छुइ’ (अपवित्र) मान्ने चलन छ । अझै पनि नेपालका कर्णाली, सुदुपश्चिम लगायतका कतिपय ठाउँहरुमा महिलाहरू महिनावारी हुँदा छाउगोठ बस्नुपर्छ । तर, दक्षिण यसियाको एक मात्र घुमन्ते जाती राउटे समुदायमा भने यस्तो महिनावारी भएकै कारण अलग्गै छाउगोठ बस्नुपर्ने प्रचलन छैन ।
राउटे महिलाहरू महिनावारीका समयमा न त समाजबाट अलग रहन्छन, न त उनीहरुलाई कुनै पूजा–आजा वा खानपिनमा रोकटोक हुन्छ । उनीहरू अरू दिनसरह नै परिवारसँग बस्छन, खाना पकाउँछन, धार्मिक तथा सामाजिक गतिविधिमा सक्रिय रहन्छन् । अन्य समुदायहरूमा महिनावारीलाई अपवित्र मान्ने चलन भए पनि राउटे समुदायमा महिनावारीलाई शारीरिक प्रक्रियाका रुपमा मात्र मानिन्छ, कुनै अपवित्रतासँग जोडिदैन।
महिनावारी भएको समयमा पनि अन्य दिनसरह नै आफ्नै घरपरिवारसँग बस्छन । अन्य समुदाय जस्तै घरभन्दा पर अलगै राखिँदैन । खानपिनमा कुनै रोकावट हुँदैन, न त धार्मिक वा सामाजिक कार्यमा प्रतिबन्ध नै हुन्छ। अन्य समुदायमा जस्तो महिनावारी भएकी महिलाले भान्सामा जान नपाउने, छोएको अपवित्र मान्ने वा पूजास्थल छुन नहुने जस्ता नियम राउटे समुदायमा लागु हुँदैन। यहाँका महिलाहरुले यस्तो प्रथालाई पहिलेही देखि त्याग्दै आएको राउटे समुदायकी २६ वर्षीया गाजली शाही बताउँछिन् ।
राउटे महिलाहरूको अनुभव बताउँदै गाजली शाही भन्छिन, ‘हाम्रो समुदायमा महिनावारी (छुइ) मान्दैनौँ । महिनावाी भएको समयमा हामी अरू दिन जस्तै घरमै बस्छौँ, खाना पकाउँछौँ, परिवारसँगै बसेर खान्छौँ। अन्य समुदायले मिन्स बार्छ भन्छन् तर, हाम्रोमा मिन्स बार्दैन ।’
अन्य समुदायका महिलाहरुले महिनावारी बार्ने चलन अहिले पनि कायमै छ । कहीँ पाँच, दिन त सात दिनसम्म महिनावारी बार्ने (घरबाहिर) छाउगोठमा बस्ने चलन छ तर, राउटे समुदायमा त्यस्तो नभएको राउटे समुदायमा कार्यरत जोडी शिक्षक दुर्गा खत्री बताउँछिन् ।

राउटे समुदायसँग लामो समयदेखि नजिक रहेर काम गरिरहेकी जोडी शिक्षिका दुर्गा भन्छिन्, ‘अन्य समुदायमा महिनावारीका बेला देता रिसाउने डरले महिलाहरूलाई छुट्टै बस्न बाध्य पारिन्छ, तर राउटे समुदायमा त्यस्तो कुनै बाध्यता देखिँन । उनीहरूलाई पारिवारिक र सामुदायिक रूपमा कुनै दबाब छैन, नत देउता रिसाउने डर नै ।’
राउटे मुखिया शूर्य नारायण शाही अन्य समुदायमा महिनावारी विभेद हुने गरेको सुनेता पनि आफ्नो समुदायमा त्यस्तो विभेद नभएको बताउँछन् ।
अन्य समुदायले छुइबार्ने चलन सुनेको छु,’उनी भन्छन्, ‘अन्य समुदायले हामीलाई पनि सोध्छ राउटेले छुइ बार्छ कि बादैन ? वा किन छुइ बार्दैन ? छुइ नबारे केही हुँदैन भन्ने जिज्ञासा राख्ने गर्छन । मैले भन्छु पहिले देखि नै हामी महिनावारी मान्दैनौँ । सामान्य रुपमा बुझ्छौँ ।’
नेपालका विभिन्न ग्रामीण समुदायमा अझै पनि पाँचदेखि सात दिनसम्म महिलाहरूलाई अलग राख्ने, खानपिनमा भेदभाव गर्ने, र धार्मिक कार्यमा सहभागी हुन नदिने चलन विद्यमान छ। तर, राउटे समुदायले भने महिनावारीलाई कुनै प्रकारको धार्मिक वा सांस्कृतिक निषेधसँग जोडेको छैन।
नेपाल सरकारले महिनावारीका समयमा गरिने भेदभावपूर्ण व्यवहारलाई हटाउने अभियान चलाए पनि अझै पनि धेरै ठाउँमा छाउपडी प्रथा कायमै छ।
राउटे समुदायले महिनावारी विभेद नगर्ने चलनले अन्य समुदायका महिलाहरुलाई समेत महिनावारीलाई अपवित्र मान्ने सोच परिवर्तन गर्न सक्ने एक उदाहरणका रुपमा लिन सकिने सोसेक नेपालका कार्यकारी निर्देशक एवं सामाजिक अभियान्ता हीरासिंह थापा बताउँछन् ।
थापा भन्छन, ‘राउटे समुदायमा अन्य समुदायभन्दा तीनवटा कुरामा ठूलो अन्तर छ। पहिलो, यहाँका महिलाहरू महिनावारी भएको समयमा बाहिर बस्नुपर्दैन। दोस्रो, बालबालिकामाथि कुनै प्रकारको हिंसा हुँदैन। तेस्रो, पारिवारिक निर्णयमा महिलाहरूको मुख्य भूमिका हुन्छ, र पुरुषहरूले ती निर्णयलाई सम्मानपूर्वक स्वीकार्छन् ।’
नेपालको अधिकांश समुदायमा पुरुषप्रधान संरचना रहेको पाइन्छ। तर, राउटे समुदायमा भने महिलाहरूले नै घरपरिवारका मुख्य निर्णयहरू लिने गर्छन, जुन अन्य समुदायको तुलनामा फरक अभ्यास रहेको थापाले बताए ।
राउटे समुदायमा अन्य समुदायभन्दा भन्दा तीनवटा कुरा फरक छन्,’थापाले भने, ‘महिलाहरु महिनावारी भएको समयमा बाहिर बस्दैनन् । बालवालिकामाथि हिंसा गर्दैनन् । पारिवारमा केही निर्णय गर्न परेमा महिलाहरुले निर्णय गर्छन भने पुरुषहरु त्यसै निर्णयअनुसार अघि बढ्छन् ।’
पुरुष प्रधान देशमा राउटेहरु महिला प्रधान रहेको र अन्य समुदायको हकमा राउटेमा यस्तो फरक भएको थापाले बताए ।