काठमाडौँ । वायुप्रदूषणको असर स्वास्थ्यमा गहिरो रूपमा पर्न सक्छ, विशेषगरी फोक्सोमा। तर, सही खानपान र जीवनशैली अपनाएर फोक्सोको सुरक्षा गर्न सकिन्छ। स्वास्थ्य विज्ञहरूका अनुसार केही खाद्यपदार्थ र उपायहरूले फोक्सो सफा राख्न र प्रदूषणको असर कम गर्न महत्वपूर्ण भूमिका खेल्दछन्।
प्रदूषणबाट फोक्सो जोगाउन सहयोगी खानपान र उपायहरू यसप्रकार छन् :
१. आलस
ओमेगा–३ फ्याटी एसिडले भरिपूर्ण आलसले फोक्सोमा सूजन कम गरी प्रदूषणबाट जोगाउन मद्दत गर्छ।
२. पर्याप्त पानीको सेवन
शरीरमा श्वासमार्फत प्रवेश गर्ने विषालु तत्त्वलाई बाहिर निकाल्न दिनमा कम्तीमा ३–४ लिटर पानी पिउनु आवश्यक हुन्छ।
३. गोलभेंडा
गोलभेंडामा पाइने लाइकोपिन नामक एन्टीअक्सिडेन्टले शरीरमा रहेको प्रदूषणजन्य असर घटाउन सहयोग गर्छ।
४. बाफ लिने अभ्यास
तातो पानीको बाफ लिनुले श्वासप्रश्वास सहज बनाउनुका साथै फोक्सो सफा राख्न सहयोग पुर्याउँछ।
५. अदुवा र तुलसीको सेवन
अदुवा र तुलसीमा हुने प्राकृतिक औषधीय गुणले घाँटी दुखाइ, कफ र स्वासप्रश्वासको समस्याबाट राहत दिन्छ।
६. जैतुनको तेल
जैतुनको फ्याट्टी एसिडले मुटु तथा रक्तसञ्चार प्रणालीलाई स्वस्थ राख्दै प्रदूषणजन्य असरबाट जोगाउन मद्दत गर्छ।
७. पुदिनाको तेल
पुदिनाको तेलले छातीमा जमेको कफ हटाउने प्राकृतिक उपाय हो। तातो पानीमा केही थोपा पुदिनाको तेल राखेर बाफ लिँदा प्रभावकारी हुन्छ।
८. भिटामिन सी युक्त खाद्यपदार्थ
कागती, अमला, अम्बा, सुन्तला र चौलाईको सागमा पाइने भिटामिन सीले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँदै फोक्सोलाई प्रदूषणको असरबाट जोगाउँछ।