महेन्द्रनगर । सरकारले कञ्चनपुरदेखि लकडाउन शुरु गरेको छ । कोरोनाको जोखिम धेरै नै बढेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार राति १२ बजेदेखि लकडाउन शुरु गर्ने निर्णय गरेको हो । लकडाउन भएपछि घर बाहिर निस्कन पाइने छैन भने सम्पूर्ण सेवा बन्द हुनेछन ।
जिल्ला प्रशासन कार्यालयले आइतबारदेखि नै खाद्यान्न, दूध, औषधि, पानी, पेट्रोलियम पदार्थ र उद्धार तथा राहतको काममा संलग्न यातायात मात्रै खुला हुने अरु सबै बन्द हुने स्पष्ट पारेको छ ।
प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडाले आइतबार रातिदेखि जिल्ला ‘लकडाउन’ गरिने पुष्टि गरे । सीमानाका भएकाले चाँडै लकडाउन शुरु गर्नुपरेको उनले भनाई छ ।
सीमा नाका खुल्लै ?
सरकारले लकडाउन प्रक्रिया शुरु गरेपनि सीमा नाका भने खूल्लै रहेको छ । अहिलेसम्म भारतमा तिब्र रुपमा फैलिरहेको कोरोनाबाट बच्न सीमा नाका बन्द गर्नुपर्ने आवाज उठेपनि सरकारले नाका भने तत्कालै बन्द गरिहालेको छैन । बरु भारतबाट फर्किनेको जाँच समेत नभई भित्रिरहेका छन ।
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले मंगलबार मात्रै भारतसँगका सीमानाका बन्द गर्ने निर्णय गरेको छ । भीमदत्त नगरपालिका, जिल्ला प्रशासन कार्यालय र सुरक्षा अधिकारीहरू आइतबार नै बसेको बैठकले भारतसँगको गड्डाचौकी नाका भने मंगलबारदेखि बन्द गर्न निर्णय गरेको हो ।
गड्डाचौकी नाकाभन्दा अगाडी बाँकेको जमुनाह नाका बन्द भइसकेको छ । पूर्वी जिल्लाबाट समेत निर्वाध आवतजावत बढेका बेला भने पश्चिमदेखि नाका बन्द हुन थालेका छन । तर सीमा नाका खुल्ला रहेसम्म कोरोनो जोखिम घट्ने छैन । सरकारले कञ्चनपुरदेखि लकडाउन शुरु गरेर पुरै नेपाल नै लकडाउन गर्नुपर्ने माग पनि नागरिकस्तरबाट उठिरहेको छ ।