दैलेख । कर्णाली प्रदेश सरकारका जिल्ला स्थित विभिन्न विकास कार्यालयहरुद्वारा प्रस्तावित योजनाहरूको प्राथमिकता निर्धारण तथा छनोटका लागि गठित जिल्ला स्तरीय आयोजना प्रस्ताव छनोट सिफारिस समितिको तीन दिने बैठक दैलेखमा सम्पन्न भएको छ ।
बैठकले आगामी वर्षका नयाँ योजनाहरू छनोट गर्नुका साथै बहुवर्षीय योजनाहरूलाई प्राथमिकता दिने निर्णय गरेको हो ।
बैठकमा कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री विनोदकुमार शाहको अध्यक्षतामा सामाजिक विकास मन्त्री घनश्याम भण्डारी, राज्यमन्त्री गमता बिक, समितिका सभापति पूर्णबहादुर खत्री, पूर्व मन्त्री कृष्णकुमार बीसी, प्रदेशसभा सदस्य इन्द्रा शाही लगायतको सहभागिता रहेको थियो ।
गत महिना जिल्लाका १० वटा विकास कार्यालयहरूबाट संकलन गरिएका प्रस्तावहरूको आधारमा प्राथमिकता तय गरिएको हो। छनौट गरिएका योजनाहरू प्रदेश सरकारको ‘योजना बैंक’ प्रणालीमा समावेश गरिनेछ ।
मन्त्री भण्डारीका अनुसार, रूपान्तरणकारी गौरवका योजनाहरूलाई नेपाल सरकारको आगामी बजेटमा समावेश गर्न सिफारिस गरिनेछ । यद्यपि, पालिका प्रमुखहरूले व्यक्तिगत स्वार्थमा योजना छनोट गरेको आरोप पनि बैठकमा उठेको थियो ।
यसपटक लागू गरिएको कार्यविधि २०८१ अनुसार पहिलोपटक दैलेखसहित हुम्ला, सल्यान, जाजरकोटमा पनि अनिवार्य बैठकमार्फत आयोजना छनोट गरिएको हो । बहुउद्देश्यीय, छिटो प्रतिफल दिने, जीवनस्तर उकास्ने योजनालाई प्राथमिकता दिइने सामाजिक विकास समितिका सभापति खत्रीले जानकारी दिए ।