काठमाडौँ । दैलेखको ठाटीकाँध गाउँपालिकामा अर्धवार्षिक स्वास्थ्य समीक्षा तथा आगामी कार्ययोजना गोष्ठी सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा एभरेष्ट क्लब दैलेखद्वारा सञ्चालित पोषण परियोजना, सुरक्षित मातृत्व तथा शिशु स्याहार कार्यक्रमको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पछिल्लो छ महिनाको अवधिमा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको समग्र समीक्षा गरिनुका साथै आगामी योजनाको रूपरेखा तयार गरिएको स्वास्थ्य शाखा प्रमुख रविन्द्र भण्डारीले जानकारी दिए । उनले अघिल्ला वर्षको तुलनामा स्वास्थ्य सूचकमा सकारात्मक सुधार आएको उल्लेख गर्दै, समीक्षा कार्यक्रमले सुधारका क्षेत्र पहिचान गर्न महत्वपूर्ण योगदान पु¥याएको बताए ।
गोष्ठीमा कर्मचारीको क्षमता अभिवृद्धि, पदपूर्ति, स्वास्थ्य सामग्रीको उपलब्धता तथा स्वास्थ्य प्रणालीको प्रभावकारिता जस्ता विषयमा समेत छलफल गरिएको थियो ।
साथै, गर्भवती तथा सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन, र निःशुल्क शिविरमार्फत भिडियो एक्सरे सेवा पनि गर्दै आएको प्रमुख भण्डारीले बताए । ‘गत वर्षको तुलनामा यस अर्धवार्षिक अवधिमा स्वास्थ्य सूचकहरूमा सकारात्मक सुधार देखिएको छ । सुरक्षित मातृत्व, पोषण तथा शिशु स्याहार कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन भएकाले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा उल्लेखनीय सुधार आएको छ,’भण्डारीले भने, ‘यो सँगै स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, स्वास्थ्य सेवा प्रवाहमा पारदर्शिता र सेवामा पहुँच वृद्धि गर्न गाउँपालिका प्रतिबद्ध छ । आगामी दिनमा अझ प्रभावकारी कार्यक्रममार्फत समुदायमुखी स्वास्थ्य सेवा विस्तार गर्दै जाने छौं ।’

त्यस्तै ठाटीकाँध गाउँपालिका उपाध्यक्ष देबिराम बडुवालले स्वास्थ्य सेवा जनताको आधारभूत अधिकार भएको र स्वास्थ्य सेवा प्रभावकारी बनाउन पालिका प्रतिवद्ध रहेको बताए । गाउँपालिकाले मातृशिशु स्वास्थ्य, पोषण, र सरसफाइलाई प्राथमिकता दिँदै आएको छ,’उनले भने, ‘अर्धवार्षिक समिक्षा कार्यक्रममार्फत गरिएका कामको समीक्षा र आगामी योजना निर्माणले सेवा अझ प्रभावकारी बन्ने र बनाउने कुरामा विश्वाससँगै प्रतिवद्ध छौँ ।’
‘सुत्केरी महिलाका लागि निःशुल्क एम्बुलेन्स सेवा, भिडियो एक्सरेजस्ता सुविधाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने महिलालाई सहज सेवा दिन सहयोग पुगेको छ । आगामी दिनमा पनि स्थानीय सरकार स्वास्थ्य क्षेत्रको समग्र सुधारका लागि प्रतिबद्ध रहन्छ,’ उनले भने ।
ठाटीकाँध गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत तुलसी प्रसाद उपाध्यायले स्थानीय सरकारको भूमिका केवल सेवा प्रवाहमा मात्र सिमित नभएर गुणस्तरीय सेवा उपलब्ध गराउनु प्रमुख दायित्व भएको बताए । ‘स्थानीय सरकारको भूमिका केवल सेवा प्रवाहमै सीमित छैन, अब गुणस्तरीय सेवा उपलब्ध गराउनु हाम्रो प्रमुख दायित्व हो,’ उनले भने, ‘स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा प्रभावकारी कार्यान्वयन र पारदर्शिता अत्यन्तै आवश्यक छ ।’