सुर्खेत । कर्णाली प्रदेशमा सञ्चालित परम्परागत तथा धार्मिक विद्यालयहरूको पहिलो पटक विस्तृत अध्ययन गरी तथ्याङ्क संकलन गरिएको छ।
शिक्षा विकास निर्देशनालयका निर्देशक दीपा हमालको संयोजकत्वमा गठित सात सदस्यीय कार्यदलले चार महिनाको अध्ययनपछि सामाजिक विकासमन्त्री घनश्याम भण्डारीलाई प्रतिवेदन बुझाएको हो ।
अध्ययन अनुसार कर्णालीमा १६ धार्मिक विद्यालय छन्, जहाँ ९६५ विद्यार्थी अध्ययनरत छन् भने ९० जना शिक्षक संलग्न छन् । गुरुकुल, गुम्बा र मदरसालगायत विद्यालयहरू डोल्पा, जाजरकोट, दैलेख, कालीकोट, सल्यान, सुर्खेत र जुम्लामा रहेका छन् ।
प्रतिवेदनले अधिकांश विद्यालयको अवस्था दयनीय रहेको, पूर्वाधार कमजोर, आर्थिक अभाव, शिक्षकको लाइसेन्स अभाव तथा धार्मिक शिक्षाप्रति घट्दो आकर्षण लगायत समस्या औंल्याएको छ ।
मन्त्री भण्डारीले धार्मिक शिक्षाको संरक्षण र संवर्द्धन गर्न नीति, कार्यक्रम र बजेट तय गरिने जनाएका छन् ।