सल्यान । सल्यानको लुहापिङमा दोस्रो शारदा मेयर कप क्रिकेट प्रतियोगिता हुने भएको छ । लुहापिङस्थित त्रिभुवन जन माध्यमिक विद्यालयको खेलमैदानमा दोस्रो शारदा मेयर कप अन्तरपालिका स्तरीय क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
शारदा नगरपालिकाको आयोजना र जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा सञ्चालन हुने प्रतियोगिता बैशाख ६ गतेबाट सुरु हुने नगर प्रवक्ता तथा वडा नं – ११ का वडाध्यक्ष राजेश कुमार शर्माले जानकारी दिए ।
प्रतियोगितामा सल्यान जिल्लाका दशवटै स्थानीय तहका प्रतिनिधित्व गर्ने टोलीहरूको सहभागिता रहनेछ। प्रतियोगिताको उद्घाटन कार्यक्रम शारदा नगरपालिकासँग भगिनी सम्बन्ध कायम गरेको ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले गर्ने तय भएको छ ।
प्रवक्ता शर्माका अनुसार, प्रतियोगिताको मूल उद्देश्य जिल्लामा क्रिकेट खेलप्रति आम जनमानसको रुचि र समर्थन अभिवृद्धि गर्नुका साथै युवा पुस्तालाई खेलकूदतर्फ आकर्षित गर्नु हो ।
“क्रिकेट केवल एक खेल मात्र नभई जीवनशैली, एकता र स्वस्थ प्रतिस्पर्धा प्रवर्धन गर्ने माध्यम हो,' उनले भने, 'यस्ता प्रतियोगिताले स्थानीय खेलकूदको महत्व उजागर गर्नुका साथै युवामा मानसिक दृढता, रणनीतिक सोच र धैर्यको अभ्यास गर्ने अवसर पनि दिन्छन् ।'
प्रतियोगिताको विजेता टोलीलाई नगद एक लाख रुपैयाँ र उपविजेता टोलीलाई पचास हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। अघिल्लो संस्करणको उपाधि बागचौर नगरपालिकाले जितेको थियो ।