जुम्ला । तिला गाउँपालिका–१ तिला गाउँपालिकाको रारागाउँ वर्षौंदेखि खानेपानीको चरम अभाव झेलिरहेको छ। शुद्ध र पर्याप्त खानेपानीको अभावले गाउँका स्थानीय बासिन्दाहरूको दैनन्दिन जीवन कठिन बन्दै गएको छ।
गाउँलेहरूका अनुसार, वर्षौंदेखिको यो समस्या समाधानका लागि पटक-पटक सम्बन्धित निकायमा आवाज उठाइए पनि हालसम्म कुनै प्रभावकारी र दीगो योजना कार्यान्वयनमा आउन सकेको छैन । यसले गाउँको स्वास्थ्य, शिक्षा, र आर्थिक गतिविधिमा प्रत्यक्ष असर पुर्याएको छ ।
खानेपानी अभावको सबैभन्दा ठूलो मार गाउँका महिला र बालबालिकाले खेपिरहेका छन् । दैनिक बिहान सबेरै उठेर टाढाको पानी मुहानसम्म पुग्ने र भारी गाग्री बोकेर फर्कने क्रम उनीहरूको जीवनशैलीको अभिन्न हिस्सा बनेको छ ।
यसले बालबालिकाको अध्ययनमा बाधा सिर्जना गर्नुका साथै महिलाहरूलाई घरायसी कामसँगै अन्य उत्पादनमूलक तथा आर्थिक गतिविधिमा संलग्न हुन कठिन बनाएको छ । “बिहानै पानीको खोजीमा हिंड्नु पर्ने बाध्यताले छोराछोरी समयमै स्कुल पुग्न सक्दैनन्, हामी पनि दिनभर काममै पछि पर्छौं,” एक स्थानीय महिलाले दुखेसो पोखिन्।
स्थानीय तहदेखि केन्द्रसम्मका सरोकारवाला निकायहरूलाई धेरैपटक माग राखिए पनि, उनीहरूले समस्या सम्बोधन गर्ने गम्भीरता देखाएका छैनन् भन्ने स्थानीयको आरोप छ।
रारागाउँका बासिन्दाहरू अब खानेपानीको समस्या समाधानका लागि व्यवहारिक र दीगो योजना लागू हुनुपर्ने माग गर्दै आएका छन् । ।