काठमाडौँ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका –१ मा रहेको हिमालय माध्यमिक विद्यालय केही वर्षअघिसम्म उपेक्षाको प्रतीक थियो । भौतिक पूर्वाधार थिएन, शिक्षकहरू उत्साहित थिएनन्, र अभिभावकको विद्यालयप्रति विश्वास हराउँदै गएको थियो ।
विद्यार्थीहरू धुलोमैलोमै बसेर पढ्थे, खेलमैदान थिएन, झ्यालढोका, शौचालय, खानेपानीजस्ता आधारभूत सुविधाको समेत अभाव थियो । तर, आज त्यो विद्यालय रूपान्तरणतर्फ अग्रसर छ । यस रुपमान्तरणको केन्द्रमा छन्, प्रधानाध्यापक हर्कबहादुर बिक ।
हर्कबहादुर बिक २०७८ सालमा विद्यालयको नेतृत्व सम्हाल्न आइपुगेका हुन् । चामुण्डा–१, चापागाउँका स्थायी बासिन्दा हर्कबहादुर आफैं यही विद्यालयका पूराना विद्यार्थी हुन् । कक्षा ४ मा पढ्दै गर्दा आमाको निधन, घरको आर्थिक संकट, भाइबहिनीको जिम्मेवारी यी सबै चुनौतीका बीच पनि उनी शिक्षाको उज्यालोबाट पछि हटेनन् । विद्यालयमा शिक्षकका रूपमा सुरुआत गरेका उनले २०७० सालमा शिक्षक सेवा आयोगको परीक्षाबाट स्थायी नियुक्ति पाए ।

प्रधानाध्यापक बनेपछि उनले सबैभन्दा पहिला शिक्षक तथा कर्मचारीका छोराछोरी निजी विद्यालयबाट निकालेर आफ्नै विद्यालयमा भर्ना गराए ।
'शिक्षक र कर्मचारीका बालबालिका यही विद्यालयमा पढ्नुपर्छ, भन्ने दृढताका साथ अभियान सुरु गरे', उनी भन्छन्, 'आफ्नै दुई बालबालिका बोर्डिङ स्कूलबाट फिर्ता बोलाएर स्थानीय विद्यालयमा भर्ना गराएपछि अन्य शिक्षकहरू पनि साथ दिन थाल्नुभयो ।'
शिक्षकका बालबालिका विद्यालयमा पढ्न थालेपछि अभिभावकको विश्वास पलायो । समुदायमा 'हाम्रो विद्यालयमा पनि परिर्वतन सम्भव छ भन्ने भावना जागृत भयो । विद्यालय सुधारको अभियानमा स्थानीय अभिभावकले १५–२० दिनसम्म श्रमदानसमेत गरे । कसैले डोको दिए, कसैले नगद दिएर विद्यालय निर्माणको अभियान सामूहिक बनेको हर्क बहादुर बताउँछन् ।

विद्यालयमा विभिन्न संस्थागत साझेदारीहरू पनि गरिएको थियो । सेभ द चिल्ड्रेन र सोसेक नेपालको सहयोगमा बाल विकास कक्षाका लागि टिभी, कार्पेट, राउण्ड टेबल, सिसिटिभी जडान जस्ता प्रविधि सामग्री थपिए । विद्यार्थीको पठनपाठनमा रुचि समेत बढ्दै गएको छ ।
हाल विद्यालयमा ४ सयभन्दा बढी विद्यार्थी छन् । स्थानीय समुदायमा शिक्षा प्रतिको विश्वास बढ्दो छ । शिक्षक, विद्यार्थी, अभिभावक र समुदायको सामूहिक प्रयासले विद्यालय नमुनातर्फ अग्रसर छ ।
विद्यालयको भौतिक पूर्वाधार विस्तारसँगै आर्थिक र वातावरणीय योजना पनि अघि बढाइएको छ । २४ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालय परिसरमा अम्लिसो, टिमुर, कागती र अमिलोका बिरुवाहरू रोपिएको हर्क बहादुरको भनाई छ ।
विद्यालयमा यति हुँदा पनि चुनौती बाँकी रहेको उनी बताउँछन् । उनका अनुसार शिक्षक दरबन्दी अपुग छ, निजी स्रोतबाट शिक्षकको तलब व्यवस्थापन गर्नुपरेको छ। प्रशासनिक भवन, पर्याप्त शौचालयजस्ता पूर्वाधार अझै अधुरा छन् । तर हर्कबहादुरको समर्पणले विद्यालय सुधारको यात्रामा थकाइ देखिएको छैन ।
'काम सानो ठूलो हुँदैन,' हर्कबहादुर भन्छन्, 'अरुलाई भन्नुभन्दा आफूले गरेर देखाउनु पर्छ ।' बिहान ६ देखि साँझ ६ बजेसम्म विद्यालयमा समय दिने हर्कबहादुर कहिलेकाहीँ आफैं कुचो लिएर विद्यालय सफा गर्छन् ।
हिमालय माध्यमिक विद्यालयको परिवर्तन कुनै चमत्कार होइन । यो नेतृत्व, समर्पण र सामूहिक प्रयासको उदाहरण हो । सीमित स्रोत र कठिनाइका बीच पनि इच्छाशक्ति र समर्पण भए असम्भव केही हुँदैन भन्ने कुरा हर्कबहादुर र उनको टिमले देखाइदिएका छन् । अब यो विद्यालय न केवल पालिकाको, सम्भवतः जिल्लाकै नमुना बन्ने यात्रामा अग्रसर छ।
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२ १६:१३