काठमाडौँ । दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा ‘सशक्त बालिका, समावेशी समाज : हाम्रो सपना, हाम्रो अभियान’ नारासहित पहिलो बालिका सम्मेलन सम्पन्न भएको छ ।
नगर बाल सञ्जालको आयोजनामा, चामुण्डाबिन्द्रासैनी नगरपालिका, सेभ द चिल्ड्रेन र सोसेक नेपालको साझेदारीमा आयोजना गरिएको सम्मेलनमा बालविवाह, छाउपडी, बालश्रमजस्ता कुप्रथाको अन्त्य र बालिकाको अधिकार सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

मुख्य अतिथि कर्णाली प्रदेशका मन्त्री विनोद कुमार शाहले शिक्षा, क्षमता विकास र सामाजिक रूपान्तरणमा यस्ता कार्यक्रमको महत्व रहेको उल्लेख गर्दै, अझै २१ प्रतिशत रहेको बालविवाह दर घटाउन विकास साझेदार संस्थालाई आग्रह गरे । नगर प्रमुख गणेशकुमार शाहीले छाउपडी जस्ता कुप्रथाको अन्त्यका लागि व्यवहारिक कार्यान्वयनको आवश्यकता औंल्याए ।

कार्यक्रममा ९० जना बालिका, अभिभावक, नागरिक समाज र सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । जनगणना २०७८ अनुसार नगरपालिकामा कुल ११ हजार ६८० बालबालिका छन्, जसमा करिब ४९.८१ प्रतिशत बालिका छन्। सम्मेलनले बालअधिकार सुनिश्चित गर्दै समावेशी र समृद्ध समाज निर्माणमा सबैको साझा प्रतिबद्धता जाहेर गरेको छ।