रुकुमपश्चिम । रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१ र जाजरकोटको भेरी नगरपालिका–१ लाई जोड्ने रिम्ना झोलुंगे पुल अहिले उच्च जोखिममा परेको छ ।
दैनिक सयौँ मोटरसाइकल आवतजावत हुने यो झोलुंगे पुलको अवस्था अत्यन्तै नाजुक बनेको छ । पुलका फलामे प्लेटहरू टुक्रिँदै खस्न थालेका छन् भने कतिपय स्थानमा भ्वाङ परेका छन् । यसरी कमजोर बनेको पुलबाट जोखिम मोलेर सवारी सञ्चालन हुँदै आएको छ ।
पक्की पुलको विकल्प नहुँदा मानिस र सवारीसाधन दुवै यही पुलमार्फत आवतजावत गर्न बाध्य छन्। यसअघि स्थानीयले काठ टालेर भ्वाङ पुरेका थिए, तर अहिले ती प्रयास पनि अवरुद्ध भएका छन् ।
स्थानीय बासिन्दाहरूले पुलको मर्मत सम्भारमा सम्बन्धित निकायको ध्यान नपुगेकोप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन् । स्थानीय डिल्ली परियारले जुनसुकै बेला अप्रिय घटना हुन सक्ने खतरा औंल्याउँदै उनी भन्छन्, “४–५ महिनादेखि पुलको अवस्था बिग्रँदै गएको छ तर कसैले वास्ता गरेको छैन ।”
त्यस्तै, स्थानीय पूर्णबहादुर विकले दैनिक मोटरसाइकलहरू पुलको भ्वाङमा अड्किने गरेको बताए । स्थानीय टोपेन्द्र बस्नेतले पुलको तत्काल मर्मत आवश्यक रहेको बताए । “न त पक्की पुलको निर्माणमा ध्यान दिइएको छ, न त झोलुंगे पुलको संरक्षणमै चासो देखाइएको छ,” उनले आक्रोश व्यक्त गरे।
वर्षौ पुरानो यो झोलुंगे पुल अब गम्भीर मर्मतविना चल्न सक्ने अवस्थामा छैन। स्थानीयवासीहरूले सम्बन्धित निकायलाई तत्काल ध्यान दिन आग्रह गर्दै ठुलो दुर्घटनाको प्रतीक्षा नगर्न चेतावनी दिएका छन्।