जुम्ला । जुम्लाको सदरमुकाम खलङ्गा बजारमा आजदेखि सुरु हुने हिमाली संवाद २०८२ को सम्पूर्ण तयारी पूरा भएको छ । तीन दिने संवाद कार्यक्रम वैशाख ९ गते सोमबारदेखि ११ गते बुधबारसम्म सञ्चालन हुनेछ।
कार्यक्रमले हिमाली क्षेत्रका ज्वलन्त समस्या र समाधानका उपायहरूलाई स्थानीय, प्रादेशिक, संघीय तथा अन्तर्राष्ट्रिय स्तरमा उठान गर्ने उद्देश्य लिएको छ ।
कार्यक्रमको आयोजक कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालका कार्यकारी निर्देशक एवं संवाद आयोजक समितिका प्रमुख गोविन्दबहादुर शाहीले पत्रकार सम्मेलनमा जानकारी दिदै कर्णाली प्रदेशका १० मध्ये ८ जिल्लाबाट युवाको प्रतिनिधित्व हुने बताए ।
उनले भने, “हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण देखिएको वातावरणीय असन्तुलन, हिउँ पग्लिने दरको तीव्रता, जैविक विविधताको संकट तथा जीवनशैलीमा परेको असरबारे संवाद केन्द्रित हुनेछ।”
कार्यक्रममा वातावरण विज्ञ, नीति निर्माता, हिमाली क्षेत्रका समुदाय प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरू सहभागी हुने आयोजकले जनाएको छ।
संवादमा हिमाली समुदायका बालबालिका, महिला, किशोरी, आदिवासी तथा सीमान्तकृत समुदाय, नागरिक समाजका प्रतिनिधि, विकास साझेदार, संयुक्त राष्ट्रसंघीय निकाय, स्थानीय सरकार, प्रदेश र संघीय सरकारका प्रतिनिधि गरी करीब १५० जना सहभागी हुनेछन् ।
आयोजक किर्डाक नेपालका अनुसार ‘हिमाली संवाद २०८२’ ले हिमाली क्षेत्रका आवाजलाई समावेशी ढंगले प्रस्तुत गर्दै नीति निर्माणमा प्रभाव पार्ने गरी कार्यक्रम अगाडि बढाइनेछ।