कालिकोट । कालीकोटको खाँडाचक्र नगरपालिकामा लामो समयदेखि तलब नपाएका करार कर्मचारीहरूले अन्ततः आक्रोश पोख्दै कार्यालयको मूलगेटमा तालाबन्दी गरेका छन्। तालाबन्दीपछि पालिकाको सम्पूर्ण सेवा सञ्चालन ठप्प भएको छ ।
१२६ करार कर्मचारीमध्ये १२१ जनाले २१ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । वडा नम्बर ३ का कर्मचारी खिम पाण्डेका अनुसार, केवल ५ जना कर्मचारीले मात्र नियमित तलब पाएका छन्। तलब नपाउनेमध्ये २१ जना वनसम्बन्धी सेवामा कार्यरत छन्।
'पटक–पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदै आएका थियौं, तर कहिले मेयर त कहिले प्रमुख प्रशासकीय अधिकृतले जिम्मेवारी एकअर्कामा सार्दै आए। यस्तो गैरजिम्मेवारीपूर्ण रवैयाले हामीलाई बाध्य बनाएर तालाबन्दी गर्नुपर्यो,' पाण्डेले गुनासो गरे ।
उता, उपमेयर गणेशबहादुर शाहीले कर्मचारीहरूको समस्या गम्भीर रहेको स्वीकार गर्दै यसको समाधानका लागि आन्तरिक छलफल भइरहेको बताए। 'कर्मचारीको पीडा बुझ्छौं, समाधानका उपाय खोज्न हामी प्रतिबद्ध छौं,' उनले भने ।
कालीकोटका सामाजिक अभियन्ता हिक्मतजंग मल्लले नगरपालिकाको गैरजिम्मेवार व्यवहारप्रति चिन्ता व्यक्त गरे। 'सेवाग्राही दिनहुँ नगरपालिकाको ढोका चहारिरहेका हुन्छन्। कर्मचारी तलबविहीन हुनु र आवश्यक सेवाबाट वञ्चित हुनु अत्यन्त दुःखद अवस्था हो,' मल्लले भने ।
स्थानीय सरकारप्रतिको जनविश्वास जोगाइराख्नका लागि यथाशिघ्र समस्या समाधान गर्नुपर्नेमा सरोकारवालाहरूको जोड रहेको छ।