सल्यान । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिका–३ का युवा निषेध दाहालले 'सांस्कृतिक एकता, हरित भविष्य र ऐतिहासिक सम्बन्धको सम्मान' भन्ने मूल नाराका साथ ६ हजार ५०० किलोमिटर लामो एकल साइक्ल यात्रा सम्पन्न गरेका छन् ।
उनले विश्व स्वतन्त्रता दिवस (नोभेम्बर ९) को अवसरमा काठमाण्डौँस्थित पशुपतिनाथ मन्दिरबाट यात्रा आरम्भ गरेका थिए। झण्डै पाँच महिनाको कठिन यात्रापछि वैशाख ६ गते (अप्रिल १९) पुनः पशुपतिनाथ मन्दिरमै फर्किएर यात्रा सम्पन्न गरेका हुन् ।
यात्राको क्रममा दाहालले भारतका प्रमुख धार्मिक तथा सांस्कृतिक स्थलहरूको भ्रमण गरे । काशी विश्वनाथ, मिर्जापुर बिन्दाबासीनी धाम, अयोध्या, मथुरा, वृन्दावन, अक्षरधाम, लोटस टेम्पल, ईक्लिन्जी, सोमनाथ, साईबाबा मन्दिर, सिद्धिविनायक, मिनाक्षी मन्दिर, त्रिमुला वेङ्कटेश्वरा, हजार पिलर मन्दिर र उडिसास्थित जगन्नाथ मन्दिर हुँदै पश्चिम बङ्गाल, दार्जिलिङ र इलाम पार गर्दै नेपाल फर्केका हुन् ।
दाहालका अनुसार, यो यात्रा केवल शारीरिक साहस प्रदर्शन गर्ने माध्यम मात्र नभई दुई देशबीचको गहिरो ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धको कदर गर्ने प्रयास पनि हो । साथै, उनले यात्रा अवधिभर जनचेतनामूलक सन्देशहरू फैलाउँदै हरित वातावरणको पक्षपोषण र दिगो भविष्य निर्माणमा साइक्लजस्तो वैकल्पिक यातायातको महत्वबारे जानकारी दिए ।
'यात्रा कठिन थियो, तर हरेक पाइला प्रेरणादायी बन्यो,' दाहालले भने, 'भारत र नेपालको सांस्कृतिक साझेदारीको अनुभूति अझ प्रगाढ भयो ।'