सल्यान । सल्यानको त्रिबेणी गाउँपालिकाले दोस्रो शारदा मेयर न्यू इयर टी–ट्वान्टी कप क्रिकेट प्रतियोगितामा सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । तीन खेलमध्ये दुईमा विजय हासिल गरेको त्रिबेणीले बुधबार सम्पन्न खेलमा बन्गाड कुपिण्डे नगरपालिकालाई ९५ रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जित दर्ता गर्यो ।
शारदा नगरपालिकाको आयोजना र जिल्ला क्रिकेट संघ सल्यानको समन्वयमा जारी अन्तरपालिका स्तरको प्रतियोगिता लुहापिङ खेलमैदानमा भइरहेको छ । बुधबार बिहान सम्पन्न प्रतियोगिताको आठौँ खेलमा टस जितेर पहिले बलिङ रोजेको बन्गाड कुपिण्डेसामु त्रिबेणीले बलियो प्रदर्शन गर्दै निर्धारित २० ओभरमा ५ विकेट गुमाएर २०५ रन बनायो ।
त्रिबेणीका मोहन केसीले ३१ बलमा आक्रामक ६८ रन प्रहार गरे । यस्तै, बिशाल केसी ५३ बलमा ५२ रन बनाएर अविजित रहे भने सुरज केसीले २५ बलमा ४५ रन थपे । बन्गाड कुपिण्डेका भरत बिसीले ३ ओभरमा २९ रन खर्चेर २ विकेट लिँदा, केशव खड्का र रमित पुनले क्रमशः २ र १ विकेट लिए ।
जवाफमा २०६ रनको विशाल लक्ष्य पछ्याउन मैदानमा उत्रिएको बन्गाड कुपिण्डे १९ ओभर १ बलमै ११० रनमै समेटियो । बन्गाडका लागि लोकराज बिसीले २२, गोरख पुनले १७ र भरत बिसीले १३ रन बनाए पनि अन्य ब्याटरले उल्लेखनीय प्रदर्शन गर्न सकेनन् ।
त्रिबेणीको बलिङतर्फ बिमल कुमार पुनले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १ मेडन सहित २२ रन खर्चेर ३ विकेट लिए । यस्तै, सोमराज केसीले ३, सुन्दर रेउलेले २ तथा जोखिराम केसी र सुवास रेउलेले समान रूपमा १/१ विकेट लिए ।
प्रतियोगितामा तीन खेल खेलेको त्रिबेणीले दुई खेल जित्दै सेमिफाइनल प्रवेशको सम्भावना बलियो बनाएको छ भने दुई खेल खेलेको बन्गाड कुपिण्डे भने अहिलेसम्म जीतविहीन छ। त्रिबेणीका मोहन केसी प्लेयर अफ द म्याच घोषित भए ।