सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विद्यालयबाहिर रहेका बालबालिकाको पक्षमा आवाज उठाउन बालबालिकाहरुलाई आग्रह गरेका छन् ।
कर्णाली प्रदेशका दशवटै जिल्लाबाट आएका बाल संजालका पदाधिकारी तथा सदस्यहरूसँगको साक्षात्कारमा उनले आफ्नो मात्र नभई विद्यालय जान नपाएका साथीसँगीसम्बन्धी विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका हुन् ।
मुख्यमन्त्री कँडेलले भने, 'तपाईंहरूकै छिमेकमा अझै पनि विद्यालय जान नपाएका बालबालिकाहरू छन्, उनीहरूलाई उत्प्रेरित गर्ने काम तपाईंहरूकै हातमा छ ।' उनले यस्तो कार्यमा ‘सहयोगी समूह’ बनाएर सामूहिक प्रयास गर्नसमेत सुझाव दिए।
साक्षात्कारको क्रममा मुख्यमन्त्रीले समाजमा व्याप्त हानिकारक कुरीति अन्त्यमा बालबालिकाको भूमिका अत्यन्त महत्त्वपूर्ण हुने धारणा राखे । “कुरीति जन्मिने ठाउँ घर हो,” उनले भने, “त्यस्ता कुरीति जन्मन नदिन आफ्नै घरबाट अभिभावकलाई सचेत गराउनुहोस् ।”
मुख्यमन्त्री कँडेलले राजनीतिप्रति चासो राख्न आग्रह गर्दै भने, 'यस उमेरमा राजनीति नगर्नुहोस्, तर राजनीतिबारे बुझ्न भने सक्नुहुन्छ ।' उनले राजनीतिलाई 'अधिकार खोजीको यात्रा' को रूपमा व्याख्या गर्दै सचेत राजनीतिक चेतनाको आवश्यकता औंल्याए ।
यस अवसरमा कर्णाली प्रदेशस्तरीय बाल संजालकी अध्यक्ष समीक्षा चौधरीले मुख्यमन्त्री कँडेललाई ज्ञापनपत्र बुझाउँदै बालमैत्री नीति निर्माण तथा कार्यान्वयनमा ध्यान दिन आग्रह गरिन् । उनले बालविवाह न्यूनीकरण रणनीति कार्यान्वयन, बालविवाहको उमेर २० वर्ष कायम गर्ने, विद्यालयमा बाल संरक्षण सुनिश्चित गर्ने तथा छाउपडी, जातीय छुवाछूत, अपांगता र बालमैत्री वातावरण प्रतिकूल प्रथाहरू अन्त्य गर्न व्यवहारिक पहल गर्न सरकारसँग माग गरिन् ।