सल्यान । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र प्रभावकारी बनाउने उद्देश्यले सल्यानको छत्रेश्वरी गाउँपालिकामा सञ्चालन गरिएको समुदायस्तरीय अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रमअन्तर्गत गाउँपालिकाका सातवटै वडामा चरणबद्ध रूपमा सम्पन्न भएको उक्त अभिमुखिकरण कार्यक्रममार्फत ८६२ जना स्थानीयवासीले महत्वपूर्ण जानकारी हासिल गरेका छन्।
गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा वैदेशिक रोजगारीमा जाने चाहना राख्ने व्यक्ति, रोजगारीबाट फर्किएका श्रमिक तथा हाल विदेशमा कार्यरत व्यक्तिहरूका परिवारजनलाई लक्षित गरी विविध विषयमा अभिमुखिकरण दिइएको थियो ।
सामी कार्यक्रम अन्तर्गत खटिएकी मनोसामाजिक परामर्शदाता कमला शाहीका अनुसार सहभागीहरूलाई वैदेशिक रोजगारीमा जानुअघि आवश्यक तयारी, सुरक्षित आप्रवासन प्रक्रिया, विप्रेषण पठाउने तथा प्राप्त गर्ने सुरक्षित तरिका, विप्रेषणको सदुपयोग, भावनात्मक सहयोग तथा परामर्श सेवा, र स्थानीय वित्तीय सेवा प्रदायकबारे जानकारी प्रदान गरिएको हो ।
कार्यक्रमका क्रममा सहभागीहरूबीच आपसी अनुभव आदानप्रदान भएको मात्र होइन, वैदेशिक रोजगारीका क्रममा भोगिन सक्ने सम्भावित जोखिम तथा तिनबाट बच्ने उपायहरूबारे समेत विस्तृत छलफल गरिएको थियो । साथै, विदेशमा कार्यरत व्यक्तिका परिवारजनले भोगिरहेका सामाजिक तथा मानसिक समस्याको पहिचान र समाधानका लागि आवश्यक परामर्श सेवा पनि उपलब्ध गराइएको थियो ।
गाउँपालिकाले यस्तो किसिमको कार्यक्रमले वैदेशिक रोजगारीमा जान खोज्ने तथा त्यससँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जोडिएका समुदायका सदस्यहरूलाई जानकारीमूलक र सजग बनाउने विश्वास व्यक्त गरेको छ । आगामी दिनमा अझ प्रभावकारी रूपमा यस्ता कार्यक्रम विस्तार गर्ने प्रतिबद्धता गाउँपालिकाले जनाएको छ ।